विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रबाट सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङ अवधारणा सुरु भएपछि ट्राफिक जामको समस्या हल भएको छ । बजार क्षेत्रका सडक खुल्ला र आवागमन सहज भएपछि ट्राफिक प्रहरीको जनशक्ति मुख्य राजमार्गतर्फ सिफ्ट भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीका अनुसार सवारी तथा यात्रु आवागमन सहज भएको छ । मुख्य बजार लाइन अन्तर्गत ट्राफिकचौकदेखि तीनपैनीसम्मको कुनैपनि स्थानमा सवारी जाम हुने समस्या हल भएको प्रमुख कार्कीले जानकारी दिएका छन् ।
विराटनगर महानगरपालिकाले पार्किङको विकल्पसहित सडकमा रोकिदैं आएको सवारी व्यवस्थापन प्राथमिकतामा राखेर समाधान गरेको छ । जसको सकारात्मक प्रभाव मुख्य बजार क्षेत्र शान्त, सहज र खुल्ला भएको छ । त्यसले बजारमा आवागमन सहज बनाएको छ ।
महानगरले चालेको कदमले ट्राफिक जनशक्तिको अभावलाई समेत सहज बनाएको छ । सवारी जाम र अस्तव्यस्त बजार हुँदा त्यसको व्यवस्थापनमा खटिनु पर्ने ट्राफिक प्रहरीको संख्या कम हुँदा समेत हुने भएको हो ।
ट्राफिकचौकदेखि जलजला मोडसम्म, त्यसको पूर्व–पश्चिमका सडक समेत खुल्ला भएका छन् । अस्पताल लक्षित गरेर सडकमा हिड्ने एम्बुलेन्सले साइरन बजाई रहनु नपर्ने भएपछि ध्वनी प्रदुषण समेत नियन्त्रण भएको बताइन्छ । प्रदेश राजधानी भएका कारण भीआईपीको सवारी व्यवस्थापनमा समेत मुख्य बजार क्षेत्र सहज भएपछि अब रोडशेषदेखि कन्चनबारीसम्मको कोसी राजमार्गको सवारी व्यवस्थापनमा ध्यान केन्द्रीत भएको ट्राफिक प्रमुख कार्कीले जानकारी दिए ।
कोसी राजमार्ग क्षेत्रको पार्किङ व्यवस्थापन, बस स्टप स्टेसन समेत यकिन गर्ने प्रक्रिया विराटनगर महानगरले अध्ययन गरिरहेकोले चाँडै समस्या हल हुनेमा आफु विश्वस्त रहेको कार्कीले बताएका छन् । स्थानीय सरकारले गरेको कामले धेरै कुरामा सहज बनाएको छ, ट्राफिक प्रहरी प्रमुख कार्कीले भने–सानो कुराको व्यवस्थापनले शहरको रुप फेरिएको छ ।