विराटनगर । विराटनगर–३ कन्चरबारीस्थित नेपाल आयल निगमको पार्किङस्थलबाट चारवटा ट्याङकरको ब्याट्री बिहीबार राती चोरी भएका छन् । ढुवानी व्यवसायी पुजा ठकुरीको ना ७ ख ४६२९, ना ४ ख १९६०, ना ४ ख ३९३७ र को १ ख ६०५९ नम्बरको ट्याङकरको आठ थान ब्याट्री र फायर बोतल चोरी भएको हो ।
खुल्ला स्थानमा राखिएका ट्याङ्करबाट सामाग्री चोरी हुनु सामान्य भएपनि त्यस भित्रको इन्धनले निम्त्याउने जोखिमले स्थानीयवासी भने आतंकित बनेका छन् ।
बिना सुरक्षाको पार्किङस्थलमा लोड भएका ट्याङकरका सामाग्री चोरी भएका छन् । राती ११ बजेसम्म सेक्यूरिटी गार्ड हुने भएपनि त्यसपछि सुत्न जाने गरेका छन् । बिहीबार राती पनि कोहि नभएको मौका छोपेर ब्याट्री तथा फायर बोतल चोरी भएका छन् ।
चोरी मात्रै हुनु सामान्य कुरा हो । एउटा नयाँ ब्याट्री खरिद गर्दा ४० हजार रुपिँया पर्दछ । तर, इन्धन भएका सवारीमा कुनै कारण आगलागी हुने अवस्था सिर्जना भएको भए त्यसले विराटनगर–३ कन्चनबारीको राजबंशी टोलका घरहरुमा क्षति पु¥याउने बढी संभावना रहेको छ । यो विषयले स्थानीयवासीले जग्गा भाडामा लगाउने ब्यास रेग्मीलाई समेत पटक पटक गुनासो गर्दै आएका छन् । त्यस बाहेक नेपाल आयल निगमसँग समेत बारम्बार पार्किङस्थल सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएका छन् ।
नेपाल आयल निगम विराटनगरका प्रमुख अशोक साहले डिपो भित्र नअटेका ट्याङकर त्यहाँ पार्किङ गर्ने गरेको जानकारी दिए । उनले डिपो भित्र कडा सुरक्षा हुने भएपनि त्यहाँ सुरक्षाको उचित प्रवन्ध नभएको बताए । अतिप्रज्वलनशील इन्धनले भरिएका ट्याङ्कर खाली स्थानमा राख्न मिल्छ त भन्ने प्रश्नमा निगमका प्रमुख साहले भने–अटेन भने राख्ने गरिएको छ ।