विराटनगर । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा कलाकार दिपाश्री निरौलासहित दुई महिलालाई विराटनगरमा सम्मान गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ (महिला उद्यम समिति) विराटनगरले विभिन्न क्षेत्रमा कार्यरत तीन महिलालाई सम्मान गरेको हो । दिवसको अवसरमा विगत तीन दशकदेखि कलाकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै चलचित्र विकास बोर्डकी सदस्य तथा कलाकार दीपाश्री निरौलालाई सम्मान गरिएको हो ।
त्यसैगरी सघंले विगत तीन दशकदेखी निरन्तर रुपमा बालबालिकाको शिक्षा क्षेत्रमा काम गर्दै आएकी जेसिवाल सदन स्कुलकी सञ्चालिका सुनिता भट्टराईलाई सम्मान गरेको छ । यसैविच दुई दशकदेखि आन्तरिक सजावट सम्बन्धी उद्योग तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी कृति उपाध्याय श्रेष्ठलाई सम्मान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङकी निवर्तमान अध्यक्ष तथा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीले सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरेका थिए ।
त्यसैगरी कार्यक्रममा आर्थिक समृद्धिमा महिला उद्यमीको भुमिका नामक एक दिने कार्यशाला गोष्ठी समेत आयोजना गरिएका नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ (महिला उद्यम समिति) अध्यक्ष सुनिता छाराहाङ्गले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा बोल्दै छाराहाङ्गले हरेक वर्ष महिलाहरुलाई प्रदान गरिने सम्मानले व्यवसायमा थप हौसल्ला मिल्ने विश्वास व्यक्त गर्नुभयो । यता सम्मानित भईसकेपछि कलाकार दिपाश्री निरौलाले आफ्नो कलाको सम्मान भएको धारणा राखिन् ।
कार्यक्रममा उपस्थित सहभागीहरुलाई अहिले हलहरुमा लाग्दै गरेको छक्कापन्जा ४ को गीत गाउदै दिपाश्रीले रमाईलो गर्न भ्याएकी थिईन् ।