विराटनगर । विराटनगरबाट पुष्पलालचौक–विराटचौक सडक खण्ड केहिदिनका लागि अवरोध भएको छ ।
पुष्पलालचौक र घिनाघाट जोड्ने सिंघिया खोलामा नयाँ पुल निर्माणका क्रममा पुरानो पुलको ‘सपोर्टिभ वाल’ भत्किएपछि सवारी आवागमन गर्न रोक लगाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार पुष्पलालचौकबाट घिनाघाटतर्फ जान नसकिने भएकोले वैकल्पिक मार्गहरु प्रयोग गर्न सकिने छ । त्यसका लागि नोबेल डेरी हुँदै जान सकिने एउटा मार्ग रहेको छ । त्यस बाहेक तीनपैनी हुँदै जिल्ला प्रहरी कार्यालयतर्फ मोडिने सडकबाट कटहरी–१ को महेशपुर–मिलनचौक निस्कने अर्को सडक रहेको छ । यी दुवै सडकमा ठूला सवारी चल्न सक्दैनन् । तर, दुई पाङग्रे मोटरसाइकल तथा चारपाङग्रे साना सवारीहरु आउआउ गर्न सक्नेछन् ।
पुल मर्मत तथा निर्माणका क्रममा रहेका कारण मालवहाक तथा यात्रु वहाक सवारी विराटचौट–पुष्पलालचौक गर्नका लागि अहिले संभव नभएको ट्राफिक प्रहरीले जनाएको छ । सडक अवरोध भएपछि अब विराटनगरबाट इटहरी हुँदै, विराटनचौकबाट पुष्पलालचौक मोडिने सवारी इटहरी हुँदै विराटनगरतर्फ ल्याउन आग्रह गरिएको छ ।
निर्माण कम्पनीले पुल प्रयोगयोग्य बनाउनका लागि अझै १५ दिन लाग्नसक्ने जानकारी दिइएको छ ।