सुजता लिम्बु
विराटनगर । सबैको परिवारमा बुबाआमाले छोराछोरीसँग बिताएका क्षणहरु हुन्छन् । त्यही क्षणहरु कालान्तारसम्म सम्झना बनेर अमिट छाप बन्छ । छोराको सम्मानपछि भेटिएका राष्ट्रिय क्रिकेटर ललितनारायण राजवंशीको बुबा जयनारायण राजवंशी आफ्नो छोराको बाल्यकाल साट्दै थिए । नेपाल खेलकुद महासंघ मोरङ्ले क्रिकेटर ललित र दिपेश कँडेललाई मंगलबार सम्मान गरेको छ । उनीहरुलाई सम्मान गहिरँदा ६० वर्षिय जयनारायणको चाहुरिएको अनुहारमा खुशीका रङ्ग भरिएका थिए ।
त्यसो त ललितको सम्मान र नेपालको जितमा खुशी साट्ने उनको बुवामात्रै थिएनन, आमा सुककुमारीदेवी राजवंशी पनि उत्तिकै खुशी थिइन् । ललितका बुवा उनको बाल्यकाल देखिको क्रिकेट मोहका कुरा उत्साहित हुँदै सुनाउँदै थिए ।
विराटनगर महानगरपालिका १४ मा सामान्य परिवारमा हुर्किएका ललित बाल्यकालदेखि नै क्रिकेट खेलमा अब्बल रहेको उनका बुबाले सुनाए । ‘यो सानो हुँदा खालि क्रिकेट खेल्न कहाँ जान्थ्यो–जान्थ्यो उसको साथीहरुले भन्थ्यो, ललित राम्रो खेलाडी हुन्छ भनेर,‘ उनी हाँस्दै सुनाउछन्, ‘हामीले केही गरेनौ आफ्नै बल र मेहेनतले यहाँसम्म आइपुग्यो ।’ उनकी आमाले पनि ललितले खेलको माध्यमबाट देशको नाम चिनाउछ भन्ने कुरामा सपना झैँ लागेको बताउछिन् । उनी भन्छिन्,‘हामी गरिबलाई कहाँ सम्भव थियो र ? तर मेरो छोराले सानै देखि यो खेलमा धेरै मेहेनत गरेको छ ।’
स्कुलमा खाजा खान दिएको पैसा जोहो गरेर क्रिकेट खेलका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्दै खेल क्षेत्रमा अगाडी बढेको ललितको क्रिकेट यात्राले एकदिन सफलतको गन्तव्य पछ्याउला भन्ने विश्वास उनको बुवाले कल्पना समेत गरेका थिएनन् । छोराको सफलतासँगै खुशी छाएको राजवंशी परिवारका लागि मात्रै नभएर यतिबेला कोशी प्रदेशका लागि क्रिकेटको क्षेत्रमा गर्विलो इतिहास बनेको छ ।
स्कुल पढ्दा क्रिकेट खेलेर समय खेर फालेको भन्दै उनको बुवाले गाली नगरेका पनि होइनन् । कहिलेकाँही क्रिकेट खेलेर पढाइ विग्रिएको भन्दै ललितले कुटाइ खाएको नमिठो सम्झनाका किस्सा सुनाउदै उनका बुवा भन्छन्,‘ मैले छोरालाई पढाई विग्रियो भन्दै गाली पनि गरे, झापड पनि होनेको तर पनि उसले खेल्न छोडेन ।’
त्यसो त ललितको धैर्यता, सहनशिलता र निरन्तरताले लक्ष्यमा पुग्न सफल भएको भन्दा कुनै दुइमत नुहने उनको नजिकका साथीहरु बताउछन् । छोराको खेल हेर्न ९ बजेदेखि काम छोडेर बसेको सुनाउने जयनारायण उनी आफ्नी श्रमती (ललितकी आमा) तर्फ हेर्दै नेपालको नाम राख्ने छोरा जन्माउने श्रीमती पाएकोमा आफू भाग्यशाली रहेको सुनाउछन् ।
‘छोराको खेल सुरु हुने दिन म सबै काम छोडेर क्रिकेट हेर्न बसे, छोराकाले खेल देखेर म मात्रै होइन सारा परिवार खुशी भएका थियौँ,’उनी श्रीमती तर्फ हेर्दै भन्छन्,‘ यसलाई हेर्छु म, देशको नाम रोसन गर्ने छोरा जन्माएको छ, मलाई अचम्म पनि लाग्छ र भाग्यशाली पनि लाग्छ ।’ विश्वकप खेल्ने क्वालिफायरका लागि छनौट भएका ललितसहितको नेपालको टिम विश्वकप खेलेको हेर्ने ठूलो धोको रहेको उनी सुनाउछन् ।
त्यसो त कतिपय नेपाली खेलाडीको आर्थिक सामाजिक अवस्था जोखिममा नपरेको पनि होइन नेपाललाई चिनाउने खेलाडीहरुलाई राज्यले विशेष ध्यान दिनुपर्ने समेत उनले बताए । क्रिकेट खेल के हो ? भन्ने जानकार भएदेखि यात्रा अगाडी बढएका ललितले २०१४ देखि व्यवसायिकरुपमा क्रिकेट खेल्न सुरु गरेको थिए । उनले २०१८ देखि नेपालको सिनियर टिममा डेब्यु गरेका हुन् । पहिलो खेल जिम्बावेसँग अन्तराष्ट्रिय एक दिवसीय खेल खेलेको बताए ।
उनले नेपालसहित आफ्नो प्रदेशलाई देशभर चिनाउन पाउँदा खुशी लागेको बताए । आफू सम्मानित हुँदा धेरै खुशीको महसुश भएको बताउँदै उनले भने,‘प्रदेशको खेलकुद महासंघले सम्मान गर्दा आउने पुस्ताहरु पनि क्रिकेट खेलमा आउनका लागि प्रेरणा मिल्छ जस्तो लागेको छ ।’
नेपाल खेलकुद महासंघ मोरङले आज (मंगलबार) सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य दिपेश कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । उनीहरुलाई प्रदेश सरकार र विराटनगर महानगरपालिकाले समेत सम्मान गर्ने निर्णय गरेको छ ।
दिपेशले युएईको यु–१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ललितले विश्वकप लिग–२ श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।