विराटनगर । क्यान्सर पीडित बालबालिकाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सांगीतिक कार्यक्रम हुने भएको छ ।
ब्लु स्काई ईभेन्टको आयोजनामा मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजको मैदानमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नयाँ वर्षको अवसर पारेर शुक्रबार साँझ सांगीतिक कार्यक्रम गर्ने जानकारी गराइएको हो ।
आर्थिक अवस्था नाजुक भएर उपचार गर्न नसकेका क्यान्सर पीडित बालबालिकाहरुको सहयोगका लागि सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको विराट मेडिकल कलेज टिचिङ अस्पतालका कम्युनिकेशन एवम् मार्केटिङ निर्देशक आभाष श्रेष्ठले बताए ।
पछिल्लो समय कोशी प्रदेशको विभिन्न पहाडी जिल्लालाई लक्षित गर्दै विराट मेडिकल कलेजले क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार विराट मेडिकल कलेज शिक्षण अस्पतालले विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ । एक सय करोडको लगानीमा अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचारको लागि १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा ल्याइएको हो ।
उक्त अस्पतालमा आएका आर्थिक अवस्था विपन्न क्यान्सर पीडित विरामीहरुको उपचारमा सहयोग पुर्याउन सांगीतिक कार्यक्रमबाट आम्दानी भएको रकम कोषमा राखेर उपचार गरिने अस्पतालका सिइओ डा. निकीता कार्कीले बताए । टिकट दर ३ सय देखि ५० हजारसम्मको रहेको छ । सांगीतिक कार्यक्रममा विराटनगरको चर्चित स्मृती ब्याण्ड, सिरिस ब्याण्ड र काठमाण्डौंबाट आएका डिजे एलएक्सको प्रस्तुती रहनेछ ।
रेवन्त रूपमणी फाउन्डेसनबाट संचालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर सम्बन्धि सम्पूर्ण उपचार सेवा सस्तो, भरपर्दो गुणस्तरीय रुपमा दिने गरेको अस्पतालले जनाएको छ ।
क्यान्सरको उपचार तथा शल्यक्रियामा सहयोग पुर्याउने उद्देश्यका साथ आधुनिक प्रविधिको रेडिएसन पद्धतिद्वारा क्यान्सर रोगको उपचार विधि सुरु भएको हो । अहिलेसम्म रेडिएसन पद्धितीबाट १२ जना विरामीको उपचार गरिएको अस्पतलाले जनाएको छ ।
क्यान्सर इन्स्टिच्युट कोशी प्रदेशसहित अन्य प्रदेश, भारतको विहारदेखि पश्चिम बंगालसम्मका बिरामीलाई लक्षित गरेर अस्पताल सञ्चालानमा ल्याइएको बताइएको छ । ‘क्यान्सरका विरामी चितवन र विदेश जाने गरेका थिए । स्थानीयस्तरमै क्यान्सरका रोगका बिरामीको उपचार विराटमा हुने भएपछि बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ,’ डा. कार्कीले भने । क्यान्सर इन्स्टिच्युटले दक्ष चिकित्सक साथमा अन्तर्राष्ट्रियस्तरको प्रविधी र विशेषज्ञको टिमसहित सबै किसिमका क्यान्सरको उपचार सेवा दिँदै आइरहेको छ । इन्स्टिच्युटले क्यान्सर रोग सम्बन्धि सबै उपचार एउटै छानामुनि दिदैं आइरहेको छ । जसमा रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टीक म्यामोग्राफी सेवा छन् ।
यसैगरी, प्रिभेन्टीभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविदद्वारा परामर्श, मनोविदद्वारा परामर्शलगागयतका सेवा रहेका छन् । क्यान्सर उपचारका लागि नेपाल सरकारद्वारा उपलब्ध उपचार सुविधाबाट पनि अस्पतालमा उपचार हुनेछ ।