विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले ४ जना उद्यमीलाई सम्मान गरेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभामा रोजगारी, सीप प्रदान गर्ने नरेश खत्री, सायदा तवसुम, तुलसी ढकाल र यमुना पोखरेललाई सम्मान गरेको हो ।
सम्मानित उद्यमी नरेशकुमार खत्री विराट व्यापार संघ विराटनगरका अध्यक्ष हुन् । खत्रीको विराटनगर–५ स्थित चामुण्डा गार्मेन्ट उद्योग संचालनमा रहेको छ । नेपालमै उत्पादन गरेको सामान विक्री वितरण गर्ने चामुण्डा गार्मेन्ट उद्योगले १ सय जना भन्दा बढीलाई रोजगारी दिदै आएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश सरकारकै उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौला र नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङका अध्यक्ष सुनिता छाराङ्गले ४ जना उद्यमीलाई सम्मान गरेका थिए ।
मोरङ जिल्लामा चार हजार एक सय साना उद्योगमा रु चार अर्ब लगानी भएको छ भने २५ हजारले रोजगारी प्राप्त गरेका छन् ।