विराटनगर । झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिएको आशंकामा विराटनगर–१५ स्थित मदन मेरिज ई. स्कुलका प्रिन्सिपल देवप्रकाश राय विरुद्ध अनुसन्धान सुरू भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्राचारका आधारमा मोरङ प्रहरीले बिहीबार रायलाई पक्राउ गरेर पठाएको हो ।
भारतीय नागरिक भएर झुटो विवरणमा उनले नागरिकता लिएको खुलेको छ । नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुसन्धानका लागि उनलाई पक्राउ गर्न निर्देशन दिएको हो ।
५५ वर्षीय रायमाथि अनुसन्धान सुरु भएको छ । देवप्रकाशले ३३ वर्षअघि वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । उनी विरुद्ध ग्लोबल एकेडेमी विद्यालयका सञ्चालकहरुले उजुरी हालेका थिए । सुनसरीको अमडुवा–३ ठेगाना राखेर बाबुको नाम टेकनारायण राय उल्लेख गर्दै १८६४÷८० नम्बरको नागरिकता २०४६ जेठ २८ गते लिएका थिए ।
उनले नागरिकता लिएपछि विराटनगरमा विद्यालय सञ्चालन गर्दै आएका छन् । २३ वर्ष पुरानो उनको विद्यालयसँगै अर्को विद्यालय स्थान्तरण गरेर ल्याइको छ । ग्लोबल एकेडेमी त्यहाँ सरेर २०७८ सालमा आएपछि दुई विद्यालयका सञ्चालबीच टसल बढेको थियो । रायले उच्च अदालतले शिक्षा कार्यविधी २०७४ विपरित एक विद्यालय भएको स्थानमा अर्को विद्यालय सरेर आएको भन्दै अदालतमा रिट दायर गरेका थिए । अदालतले सरेर आएको ग्लोबललाई त्यहाँबाट हट्नु पर्ने फैसला गरेको छ । त्यसका आधारमा अदालतले विराटनगर महानगरपालिकालाई फैसला कार्यन्वयन गराउन निर्देशन गर्दै पत्राचार गरेको छ । ग्लोबललाई स्थान्तर भएर आएको ठाउँबाट अर्को स्थानमा सर्न महानगरपालिकाले सार्वजानिक सुचना जारी गरिसकेको छ ।
अहिले दुवै विद्यालयका सञ्चालकबीचको टसलले एकले अर्कोलाई सिध्याउने लाइन चलिरहेका बेला राय भने पुनः दोस्रो पटक नागरिकता विवादमा पक्राउ परेका हुन् । यस अगाडी समेत उनी गत पुसमा पक्राउ परेका थिए ।
उनी भारतीय नागरिक भएको प्रमाणहरुले देखिन्छ । उनका अन्य परिवार र उनको समेत भारतीय कागजात र जग्गा जमिन छ । रायजस्तै दोहोरो नागरिकताधारी विराटनगरमा प्रशस्त रहेका छन् । भारत र नेपालको दोहोरो नागरिकता लिएकाहरुले यहाँ कमाउने र भारतमा पैसा जम्मा गर्ने गरेको आरोप लाग्दै आएको छ ।
https://ourbiratnagar.net/2022/09/195492