एसीसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार घरेलु मैदानमा हुने प्रतियोगिताका लागि १४ सदस्यीय टिम सार्वजनिक गरेको हो । प्रतियोगिताका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले चार खेलाडीलाई वैकल्पिकमा राखेका छन् ।
वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल १० टिम सहभागी छन् । प्रतियोगितामा सहभागी टिमलाई एक समूहमा पाँच टोली रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
जसको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
एसिया कपको छनोट प्रतियोगिता समेत रहेको प्रिमियर कपको पहिलो खेलमा नेपालले ५ गते मलेसियासँग खेल्नेछ । वैशाख ८ गते ओमानसँग, ११ गते साउदी अरेबियासँग र १४ गते समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध खेल्नेछ ।
नेपाली टिम :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी
वैकल्पिक खेलाडी : अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो