प्रेम देवान
विराटनगर । क्यान्सर रोग सुन्ने वित्तिकै मृत्युको मुखमा पुगिहालिन्छ की भन्ने डर र चिन्ता मनबाट हटाउनुपर्ने उनीहरुले सुझाव समेत दिएका छन् । क्यान्सर रोगको उपचार र पहिचान समयमा नै भए निको हुने क्यान्सर सर्भाइभर्स डा. ज्योती ओझाले बताईन् । आफु पनि स्तन क्यान्सर रोगका कारण लामो समयसम्म हस्पिटलमा उपचारपछि निको भएको उनले सुनाईन् ।
दन्त चिकित्सक डाक्टर ज्योती ओझा विराटनगरकी बासिन्दा हुन् । बिरामीको सेवामा अहोरात्र खट्थिन उनी , तर कहिल्यै सोचेकी थिइनन्, की आफैँ क्यान्सरको शिकार हुनुपर्ला भनेर । सुरुवाती अवस्थामै रोग पहिचानपछि स्तन क्यान्सरबाट पीडित डा.ज्योती अहिले पूर्ण स्वस्थ्य छिन् ।
डा.ज्योती जस्तै अर्का पात्र हुन् विराटनगरका पत्रकार कमल पौडेल । उनी पनि ब्लड क्यान्सर रोगको शिकार भई निको भएका पात्र हुन् । उनी पनि लामो समय सम्म अस्पतालको शैयामा बस्नुपरेको थियो। तर परिवार आफन्त ईष्टमित्र लगायतले आत्माबल प्रदान गर्ने खालका सल्लाह सुझाव दिएका कारण पनि एउटा औषधीको काम भएको पौडेलले कार्यक्रममा सुनाए । उनको अस्पतालमा लामो उपचार र बोनम्यारो प्रत्यारोपणपछि उनी निको भई अहिले आफ्नै कार्यक्षेत्रमा व्यस्त छन् ।
क्यान्सर रोग लाग्यो भन्ने वित्तिकै आत्तिहाल्नु नपर्ने उनीहरुले बताएका हुन् । नेपाल क्यान्सर सर्भाइभर्स सोसाईटी र विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको सयुक्त आयोजनामा क्यान्सर रोग विशेषज्ञ र क्यान्सर सर्भाइभर्सहरुसंगको भेटघाट तथा अनुभव साटासाट कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा सर्भाइभर्सको तर्फबाट डा.ज्योती ओझा, पुजा कुंवर , विनु केसी लगायतले आआफ्नो अनुभव सुनाएका थिए । क्यान्सरबाट मुक्त भएका उनीहरुले अहिले मुलुकका विभिन्न स्थानमा पुगेर क्यान्सर रोगीहरुसँग परामर्स र सामाजिक कार्यहरु गर्दै आईरहेका छन् ।
बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रमुख तथा डाक्टर ज्ञानेन्द्र मान सिंह कार्कीले अस्पतालको तर्फबाट क्यान्सर सर्भाईभर्सहरुसँग सधै हातेमालो गर्दै जाने समेत बताए । अहिले बिराट मेडिकल कलेजमा पनि क्यान्सर रोगको उपचार सुरु गरेको बताउँदै क्यान्सर सर्भाईभर्सहरुले पनि यो रोगबारे सल्लाह सुझावको रुपमा आफुहरु सहयोग गर्न आग्रह गरेका थिए ।