विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नीति कार्यक्रम, बजेट र योजनालाई दिगो विकास लक्ष्य हाँसिल गर्ने कार्यक्रममा केन्द्रीत गरिएको बताउनु भएको छ । संघीय संसद राष्ट्रियसभा दिगो विकास तथा सुशासन समिति र प्रदेश योजना आयोगले शुक्रबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले सन् २०३० सम्ममा १७ लक्षित कार्यक्रम कार्यन्वयनमा आईसक्ने बताउनु भएको हो ।
नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्यांकन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले बजेट तथा कायक्रम, बिनियोजन र साङ्केतिकरणलाई दिगो विकास लक्ष्य हाँसिल गराउने क्षेत्रमा यकिन गरिदैं आएको बताउनुभयो । उहाँले लक्ष्य अनुसारको वार्षिक खर्च, सरोकारवालापक्षसँग समन्वय, उपलब्धि हाँसिलका लागि योजना, अवसर र प्रभावकारी लक्ष्य हाँसिललाई ध्यानमा राखेर प्रदेश सरकारले पाँचवर्ष अगाडीदेखि नै ध्यान केन्द्रीत गरिसकेको बताउनुभयो ।
सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका प्राप्तीका १७ वटा उपलब्धी हाँसिल गरेर विकासोन्मुखबाट विकासशील देशमा रुपान्तरण गराउने योजनामा सरकारले व्यवस्थित ढंगबाट काम गरिरहेको उहाँको भनाई थियो । उहाँले लक्ष्य प्राप्तीसँगै उपलब्धी हाँसिल गरिसकेपछिको अवस्थालाई समेत ध्यानमा राखेर सरकारले योजनाहरु बनाउन आवश्यक रहेको बताउनुभयो ।
सामाजिक, वातावरण, आर्थिक र कानुनका पक्षमा कोशी प्रदेश सरकारका योजना प्राथमिकतामा रहेको बताउँदै उहाँले चालु १५ औं पञ्चवर्षीय योजनापछि १६ र १७ सम्ममा दिगो विकास लक्ष्यसँगै समृद्ध नेपाल सुखी नेपालीको मुलमन्त्रले सार्थकता पाउने दावी गर्नुभयो । यसका लागि प्रादेशिकस्तरमा मार्गचित्र तयार गर्नेदेखि सुचकहरुमा उपलब्धी हाँसिल गर्न योजना प्राथमिकीकरण गरिदैं आएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले तीन तहका सरकारले नै यसमा ध्यान दिएर मात्रै लक्ष्यमा पुग्न सकिने बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्र संघ पक्ष राष्ट्र रहेको नेपालले राष्ट्रिय भिजनको रुपमा समृद्ध नेपाल सुखी नेपाली बि.सं.२१०० लाई समेत पूरा गर्न योजना अगाडी बढाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले संघीय सरकारले समेत यस विषयमा चासो राखेर प्रदेश सरकार र स्थानीय तहमा परिपत्र गरिसकेको बताउनुभयो । उहाँले अहिलेको आर्थिक अवस्था, बजेट निर्माणको तयारी, बजेटमा समेटिने प्राथमिकीकरणका क्षेत्रमा प्रदेश सरकार भने सधैं सचेत रहेको बताउनुभयो ।
संघीय संसद सचिवालयका सचिव डा.रोजनाथ पाण्डेले दिगो विकास लक्ष्य हाँसिल गर्नका लागि प्रदेश सरकार र मन्त्रालयहरुका कार्यक्रम मूल्यांकन, हालसम्मको कार्यन्वयनको अवस्था लगायतका विषयमा अध्ययन गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले बजेट निर्माणमा सूचकहरुको अवस्था अध्ययन गरेर त्यसलाई पूरा गर्नका लागि रकम बिनियोजन हुनुपर्ने र त्यसका लागि योजना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।