सुन्दर कोशी प्रदेश : चौध जिल्ला किन घुम्ने ? (तस्बिरसहित हेर्नुहोस् पुग्नैपर्ने क्षेत्र)

<span class='c1'>सुन्दर कोशी प्रदेश : चौध जिल्ला किन</span> <span class='c2'>घुम्ने ? (तस्बिरसहित हेर्नुहोस् पुग्नैपर्ने क्षेत्र)</span>

विराटनगर । कोशी प्रदेश भूगोल र साँस्कृतिक हिसाबले सम्पन्न मान्छिन । विविध जातजाती, भाषा, धर्म र संस्कृतिले यहाँका मानिसहरुलाई एक सूत्रमा बाँधेको छ । हिमाल, पहाड र तराईको बलियो सम्बन्ध झल्काउने भौगोलिक बनावट रहेको यस प्रदेशमा विश्वको सबै भन्दा होचो अरुण उपत्यका र विश्वको सर्वोच्च शिखर सगरमथा हुनाले पनि प्राकृतिक सौन्दर्यताको गर्विलो इतिहास बोकेको छ । त्यसो त आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटा हिमालमध्ये नेपालमा आठ वटा छन् । ती मध्ये कोशी प्रदेशमा ५ वटा पर्छन् । तेस्रो अग्लो कञ्चनजंघा, चौंथो अग्लो ल्होत्से, पाँचौं मकालु र छैटौं अग्लो चोओ यु रहेका छन् । १४ जिल्ला रहेको प्रदेश १ मा नेपालमा फूल्ने ३२ प्रकारका लालीगुराँसमध्ये २८ प्रकारका लालीगुराँस पाइन्छ । तीनजुरे मिल्के, जलजले, नेपालकै अग्लो झरना ह्यात्रुङ, साल्पापोखरी, सभापोखरी, पाथीभरा, अन्तुडाँडा, भेडेटार लगायतले यो प्रदेश प्राकृतिक तथा सांस्कृतिक एवम जातीय, भाषिक, धार्मिक विविधताले भरिपूर्ण छ । कोशी प्रदेशका १४ वटै जिल्ला पर्यटकीय हिसाबले आफ्नै विशेषता बोकेको छ ।

किन घुम्ने कोशी प्रदेशको १४ वटै जिल्ला ?
धनकुटा किन घुम्ने ?
धनकुटा जिल्ला तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रको सुदरमुकाम हो । यहाँ भेडेटार, नमस्ते झरना, नाम्जे गाउँ आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पर्यटन क्षेत्रको मुख्य गन्तव्यको रुपमा लिइन्छ । सुनसरीको सुन्दर नगरी धरानसँग भौगोलिक दुरीको हिसाबले नजिकिएको भेडेटार १४ सय मिटर अग्लो पहाडमा सौन्दर्य फिजाएर आफ्नै साम्राज्य जमाएर बसेको छ । वारीपारी ठूलाठूलो हरीयाली पहाडको घेराबन्दीमा रहेको भेडेटारलाई धरानको फराकिलो बजारको काखमा लुटुपुटु परे झैँ भान हुन्छ ।

२०३८ सालमा बेलायती युवराजको भ्रमणपछि यसको चर्चा चुलिएको भेडेटारमा चिसो मौसमसँगै प्रकृतिलाई नियाल्न नेपालका विभिन्न जिल्ला देखि र अन्तराष्ट्रिय पर्यटनहरु समेत भ्रमण र अवलोकनका लागि आउने गर्छन् । त्यसो त २०६८ सालमा सिएनएनले भेडेटार नाम्जे गाउँलाई विश्वका उत्कृष्ट १२ पर्यटकीय गन्तव्यको सूचीमा राखेको थियो । खोकु एसियाकै गुलियो सुन्तलाको रुपमा चर्चित छँदैछ पछिल्लो समय एभोकार्डो फलको लागि पनि धनकुटा चर्चित छ ।


२ सय ५० वर्ष पुरानो एसियाकै ठूलो रुख डाँडा बजारमा रहेको छ भने हिलेको तोङ्बा सुकुटी त अधिकांश युवापुुस्ता र पाकाहरुको मुखमा किस्साको रुपमा सुन्न सकिन्छ । धार्मिक क्षेत्रमा छिन्ताङको जाल्पादेवी मन्दिर धार्मिक आस्थाले जोडिएको छ । भने धनकुटाको ध्वजे डाँडा, नागेश्वर महादेव मन्दिर, निशान भगवती मन्दिर पनि धार्मिक हिसाबले चर्चित रहेको छ । मुलघाटको विश्रान्ति मन्दिर राजारानी लगायत धनकुटा जिल्लालाई पर्यटकीय तथा धार्मिक क्षेत्रमा परिचित गराउने एउटा प्रमुख गन्तव्यको रुपमा लिइन्छ ।

तेह्रथुम जिल्ला किन घुम्ने ?
गुराँसको राजधानीको रुपमा परिचित तेह्रथुम जिल्लामा विश्वमा पाइने ४२ र नेपालमा पाइने ३२ मध्ये एउटै वनमा २८ प्रजातिका गुराँस पाइन्छ । बसन्त ऋतुको आगमनसँगै तीन जिल्लाको त्रिवेणी गुराँस वन टिएमजेले परिचित छ । तेह्रथुमको तीनजुरे, संखुवासभाको मिल्के र ताप्लेजुङको जलजले विविध जातजातिको लालिगुराँसको घुम्टोले ढाकिएकी बेहुली झैँ देखिन्छ । यसको लाभ भने तेह्रथुमले धेरै लिने गरेको छ । तर, पर्यटकीय क्षेत्रको रुपमा कोशीका लागि यो महत्वपूर्ण गन्तव्य मानिन्छ । गुँरास हेर्नु र त्यहाँको प्राकृतिक सुन्दरतालाई नियाल्न कोशी प्रदेशको मात्रै नभएर देशविदेशका पर्यटनहरुको ताँति लाग्ने गर्दछ ।
कोशीको ३६५ मि. अग्लो ह्यात्रुङ झरना यस जिल्लाको पहिचान स्थापित गर्ने प्रमुख आधार हो । गुराँस र ढुंगाको बगैँचा, चिचिलिङ पोखरी, वसन्तपुर, सोल्मा चियाबगानको सुन्दरताले पनि यस जिल्लामा पर्यटन भित्र्याउन मदत पुगेको छ भन्नेमा कुनै दुईमत छैन । धार्मिक क्षेत्रमा सिंहबाहिनी भगवती मन्दिर, मेन्छ्यायेम डाँडा र सानो पाथीभरा तेह्रथुमका प्रमुख धार्मिक क्षेत्र हुन् ।

ताप्लेजुङ किन घुम्ने ?
पूर्वी पहाडी हिमाली जिल्ला ताप्लेजुङ धार्मिक र पर्यटकिय हिसाबले विश्वभर परिचित रहेको छ ।
यस जिल्लामा विश्वको तेश्रो अग्लो हिमशिखर देखि शक्तिशालि धार्मिक शक्तिपीठ मुकुम्लुङ (पाथिभरा) रहेको छ ।
पारी विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा हिमाल (८५८६ मिटर) सँगे कुम जोड्लै वारी आफ्नै शक्ति संसार फैलाएको शक्तिपीठ पाथिभरा हुनाले पनि पर्यटकीय गन्तव्यको रुपमा ताप्लेजुङ महत्वपूर्ण स्थानमा रहेको छ । त्यस बाहेक चीनसँग नजिक ओलङचुङगोला, धुन्सा र तोप्केगोला यस जिल्लाको महत्वपूर्ण गन्तव्य हुन् ।


नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने यस जिल्लामा ताप्लेजुङ बजारको कफीले थप मिठो स्वाद थपिदिएको छ ।
तीन हजार ९४ मिटर उचाइमा अवस्थित पाथीभरामा नेपालदेखि मात्रै होइन भारत, बंगलादेश लगायतबाट दर्शन गर्न आउनेको दैनिक जस्तो घुँइचो हुनेगर्छ ।
लस्कार ताँत लागेर बनेको सदरमुकाम फुङलिङ बजारको सुन्दर संरचना र सुकेटार यस क्षेत्रको प्रमुख पर्यटक गन्तव्य हो । यस जिल्लामा तिम्बुङपोखरी, फुङफुङे झर्ना, दिकी छ्योलिङ गुम्बालगायत प्राकृतिक र धार्मिक सम्पदा छन् ।

पाँचथर किन घुम्ने ?
धार्मिक, ऐतिहासिक इतिहास बोकेको पाँचथर जिल्ला राष्ट्रिय विभूति फाल्गुनन्दको कर्मभूमिका रुपमा परिचित छ ।
इलामको चुक्चिनाम्बाको माटोमा जन्मेको फलामसिंह लिंदेन (फाल्गुनन्द) को तपोभूमि अर्थात कर्मभूमी भने पाँचथरलाई लिइन्छ । किँरात धर्मका महागुरु तथा समाज सुधारक फाल्गुनन्द लामो समयसम्म भाषा, लिपी, संस्कार, सांस्कृतिको अभियान चलाएर पाँचथरको माटोमा जीवनको अन्तिम प्राण त्याग गरेका थिए । यति मात्रैले पनि पाँचथरको विशेषता र चर्चा पुग्दैन ।

यस जिल्लामा फाँटिलो क्षेत्रमा फैलिएर रहेको सदुमुकाम फिदिम, तिम्बुपोखरी, काबेली, जोरपोखरीलगायत जिल्लाका प्रमुख पर्यटकीय क्षेत्र हो । जोरपोखरी, सिलौती, हिलिहाङ दरबार ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थान हो । पौवा भञ्ज्याङ, सिंह सिद्ध तीर्थस्थल, स्वर्गपुरी मन्दिर, लब्रेकुटी, छालासुकुवा, गुरुङ संग्राहलय यस जिल्लाको घुम्नै पर्ने महत्वपूर्ण स्थानहरु हुन् ।

झापा किन घुम्ने ?
धान उत्पादनको भण्डारको रुपमा परिचित झापामा नेपालकै सबैभन्दा होचो भूभाग केचनाकवल रहेको छ । यस जिल्लमा ४.८ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन हुन्छ । भने ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।


झापाको बिर्तामोड पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम जिल्लावासीहरुको नजिकको शहर हो । व्यापारिक सहरमध्ये विर्तामोडलाई पनि प्रमुख शहरको रुपमा लिइन्छ । यस जिल्लामा धार्मिक तथा प्राकृतिक सम्पदामा अर्जुनधारा, कचनकवल, सतासीधाम, कीचकबध, विराटपोखरी, कन्काईमाई, चिल्लागढ, चन्द्रगढ, जामुनखाडी सिमसार क्षेत्र आदि रहेका छन् ।

खोटाङ किन घुम्ने ?
खोटाङ भन्ने वित्तिकै अधिकांशको धार्मिक यात्रासँग जोडिएको किस्सा स्मरण हुने गर्छ । अझ भनौँ यस जिल्लालाई हलेसी महादेवको मन्दिरसँग सहजै परिचित गराउन सकिन्छ । धार्मिक आस्था र किम्वदन्तिसँग जोडिएको खोटाङको परिचय यहाँ हलेसी महादेवको दर्शन गर्न नै नेपाल भारतको विभिन्न स्थानहरुबाट भक्तजनहरु पुग्ने गर्छन् ।
हलेसी गुफालाई स्पर्श गर्दै खोटाङ र ओखलढुंगाको सीमाना बनाए आफ्नै बेगमा बग्ने दूधकोसी नदी महापुराणमा उल्लिखित कौशिकी नदी हुन् ।


त्यसो त दूधकोसीसँग पवित्रताको सम्बन्ध पनि रहेको छ । दूधकोसीमा स्नान गरेर हलेसीको दर्शन गर्नाले सुख, समृद्धिे धार्मिक विश्वास छ । हलेसी मन्दिरमा महाशिवरात्री, रामनवमी र बालाचतुर्दशी पर्वमा विशेष पूजा गरिन्छ । बराहापोखरी, ट्याम्केडाँडा, मेरुङ डाँडा र सेल्मेडाँडा आदी यस जिल्लाको घुम्नुपर्ने स्थान हुन् ।

उदयपुर किन घुम्ने ?
महाभारत पर्वत श्रृंखला देखि चुरे पर्वतमालासम्म भू–भाग समेटको उदयपुर जिल्ला धारिला, बिकट, डाँडाहरु छरिएर पातलिएका बस्तीहरु छन् ।
झिल्केपोखरी, सुकेपोखरी, थानापोखरीलगायत सम्पदा जिल्लाका मुख्य गन्तव्य हुन् । हर्रो, बर्रो, तेजपत्ता, रिठ्ठा, पिपला, अमला, बेल, लालगेडी, बोझो, गुर्जो, घोडताप्रेलगायत जडीबुटी उत्पादनमा पनि जिल्ला अग्रस्थानमा छ ।


जाल्पादेवी, लिम्पाटार, रौतापोखरी, चित्रेथाम, चौदण्डीगढी, उदयपुरगढी, ताप्ली पोखरी, मैनामैनी, कोशी टप्पु वन्यजन्तु आरक्षलगायत यस जिल्लाको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो ।

मोरङ किन घुम्ने ?
पूर्वको पुरानो औद्योगिक, व्यापारिक क्षेत्रले परिचित मोरङ जिल्ला राजनीतिक हिसाबले पनि उत्तिकै परिचय स्थापित गरेको छ । गिरिजा प्रसाद कोइराला, विपी कोइराला पूर्व राष्ट्रयपति विद्यादेवी भण्डारी लगायतको राजनीतिक उद्गमस्थल रहेको मोरङ जिल्लाको प्रदेशको राजधानी विराटनगरमा छ ।
विक्रम सम्वत् १९९३ मा स्थापना भएको नेपालकै पहिलो उद्योग विराट जुट मिल र १९९४ को जुद्ध म्याच फ्याक्ट्रीबाट जिल्लामा औद्योगिक विकासको थालनी भएको थियो । अहिले यी सबै इतिहास र अवशेषमा मात्रै सिमित रहेको छ ।


महाभारतकालिन विराट राजाको दरबार, राजारानी धिमाल पोखरी, गोविन्दपुरको सुनवर्षी पोखरीलगायत सम्पदा जिल्लाका घुम्न लायकस्थल हुन् । धनपालगढी, राजारानी पोखरी, राजा धनपाल थान, सुनवर्षी पोखरी, बागझोडा, सप्तकन्या गुफा, महादेव पार्वती गुफा, मिक्लाजुङ डाँडा, हरिश्चन्द्र गढी, हसेनी सिमसार, मण्ठापोखरी, बेतना मुख्य पर्यटकीय क्षेत्र हुन् ।

ओखलढुंगा किन घुम्ने ?
ओखलढुङ्गाको साइनो कवि युगकवी सिद्धिचरण श्रेष्ठसँग जोडिन्छ । अर्थात
कवी श्रेष्ठको जन्मथलो रहेको यस जिल्ला मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारका क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएको समेत इतिसहास रहेको छ ।


उनको फौजले किराँतलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटेर खाएकाले त्यही ओखलका नामबाट यस ठाउँको नाम ओखलढुंगा रहन गएको किम्बदन्ति रहेको स्थानीयहरु बताउछन् ।
पर्यटकीय क्षेत्रको रुपमा सतासीधाम रहेको यस जिल्लामा हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरेको धार्मिक किम्बदन्ति रहेको छ ।

किन घुम्ने सोलुखुम्बु ?
हिमाली जिल्ला सोलुखुम्बु नेपालमा मात्रै नभएर विश्वभर नै चर्चित छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेकै कारण पनि यो जिल्ला विश्वभर चर्चित रहको हो ।  साहसी, प्राकृतिक तथा सांस्कृतिक विषयमा रुची रहने पर्यटकका लागि सोलुखुम्बु पहिलो गन्तव्यको रुपमा लिइन्छ ।
प्रदेशकै कम जनघनत्व भएको यस जिल्लामा विश्वको सबैभन्दा अग्लो उचाइदेखि ६ सय मिटर उचाइको तुइनटार भू–भाग समेत पर्छ ।


महालंगुर हिमशृंखला अन्तर्गत सगरमाथासहित ल्होत्से (८५१६ मिटर), चोयु (८२०१ मिटर), ग्याचुङगाङ (७९५२ मिटर), पुमोरी (७१६१ मिटर), आमादब्लम (६८१२ मिटर), पासाङल्हामू (७३५१ मिटर) लगायत अग्ला शिखर यसै जिल्लामा छन् । सबैभन्दा धेरै (पाँचवटा) विमानस्थल यसै जिल्लमा रहेको छ । लुक्ला नेपालकै व्यस्त विमानस्थल मध्ये एक हो । नाम्चे बजार सोलुखुम्बुको व्यस्त पर्यटकीय गन्तव्य हो ।
मेरापिक, पिके डाँडा, रात्नाङ्गे डाँडा, नौलेख खर्क, दूधकुण्ड पोखरी, साल्पा पाँचपोखरी, लामाजुरा, धर्मपिपक, पत्ताले डाँडा चर्चित गन्तव्यको रुपमा रहेका छन् । त्यसैगरी सिलिचो, तिलपुङ डाँडा, सुके पोखरी, गोक्यो, स्याङबोचे, पाङबोचे डाँडा, दिवुचे, दिङबोचे, लबुचे, गोरक्सेप, काला पत्थर, इम्जा ताल, ठमो, थामे, खोङमाला पास, चोला पास, रेञ्जो पास, गोक्योरी खुम्बिला, क्वाङदे, फाक्दिङ अत्यधिक पर्यटक पुग्ने स्थलमार्गहरू हुन् ।


बूढासिद्ध मन्दिर, लौरेश्वर शिव मन्दिर, गौरीटाप, टिम्बुरबोटे सहिद पार्क, सिंहकाली मन्दिर, ज्वालामाई मन्दिर, जालिम मन्दिर, पञ्चकन्या कालिकादेवीको मन्दिर, गुप्तकाली आदि थप धार्मिक तथा पर्यटकीय स्थलको रूपमा प्रसिद्ध छन् ।

किन घुम्ने इलाम ?
चियाको राजनधानीको रुपमा परिचित ईलाम जिल्ला प्राकृतिक सुन्दरताको कारण पनि पर्यटकीय गन्तव्यको पहिलो खुड्किलाको रुपमा लिइन्छ । यस जिल्लामा सूर्योदय र सूर्यास्तका लागि अन्तुडाँडा प्रख्यात रहेको छ । धार्मिक आस्था बोकेको रोङ गाउँपालिकाको सानो पाथीभरा दर्शनका लागि उत्तिकै भक्तजनहरुको घुँइचो लाग्ने गर्छ ।


कन्याम, सन्दकपुर, गुफापाताल, नयाँबजार, इलामको चिया बगान, सेतीदेवी, गजुरमुखी, सिंहवाहिनी, माइस्थान, लारुम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, माईपोखरी, टोड्के झरना लगायतका थुप्रै पर्यटकीय स्थलहरू यस जिल्लामा रहेका छन् ।

अर्गानिक चिया उत्पादनमा ख्याति कमाएको यो जिल्ला चियाका बोटले डाँडाकाँडा ढाकेर छुटै सुन्दरता कायम राखेको छ ।
कन्याम जहाँ चियाको बगानले प्रकृतिमा सुन्दरता थप्न थप श्रृङगार थपिदिएको छ । त्यसैले पनि यो ठाँउ छुटाउनै नहुने गन्तव्यको रुपमा लिइन्छ । त्यसो त इलामलाई ‘पहाडकी रानी, नगदेबालीको खानी’ भनेर चिनिन्छ । घुमाउरो सडकले बेरेको इलामलाई अर्थोडक्स चिया, अलैंची, अदुवा, अकबरे खुर्सानी, ओलन (दूध) अम्लिसो, आलु र अतिथि सत्कारका रुपमा पनि चर्चित छन् ।

संखुवासभा किन घुम्ने ?
पूर्वी पहाडी हिमाली जिल्ला संखुवासभा प्राकृतिक र भौगोलिक रुपले भरिपूर्ण छ । संसारकै होचो उपत्यका विश्वको पाँचौ, नेपालको चौथो हिम श्रृङ्खला मकालु हिमालको काखमा अवस्थित छ ।


यस जिल्ला रुद्राक्षको राजधानीका रुपमा प्रसिद्ध छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज र नेपालको राष्ट्रिय फुल लालीगुराँससहित धेरै गुराँस पाइने जलजले क्षेत्र पनि यो जिल्लामा पर्छ । चैनपुरे करुवाले खुब ख्याती कमाएको यस जिल्लामा आफ्नै शक्ति फिजाएर अरुण नदीको आडमा बसेको मनकामना धर्मिक हिसाबले पनि उत्तिकै चर्चित छ ।

सभापोखरी, गुफापोखरी, सिद्धपोखरी वर्षेनी पर्यटक आकर्षित गर्ने गन्तव्य हुन् । खाँदबारी, पांखा सिबुवा, स्याबुनलगायत गाउँ रुद्राक्ष खेतीका लागि प्रसिद्ध छन् । यहाँ उत्पादित रुद्राक्ष खरिद गर्न चिनियाँ व्यापारी गाउँ–गाउँ पुग्ने गर्छन् ।
बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा धर्मिक क्षेत्रका लागि प्रख्यात मानिन्छ ।

भोजपुर किन घुम्ने ?
भोजपुर जिल्ल खुकुरी र रुद्राक्षका लागि प्रसिद्ध छ । तत्कालिन समय अर्थात वि.स १८७२ मा भोजपुर टक्सार बजार धातुका सिक्का बनाउन स्थापना भएको बताइन्छ । सिक्का काट्न स्थापना भएको टक्सार बजारबाटै खुकुरी उत्पादन थालिएको र पछि व्यावसायिक बनेपछि ‘भोजपुरे खुकुरी’ले प्रसिद्धि कमाएको इतिहास छ । भोजपुरको दिङ्ला, नेपालेडाँडा, सोमबारेलगायत गाउँ रुद्राक्षका लागि प्रसिद्ध छन् । यस जिल्लामा साल्पा पोखरी धार्मिक आस्था बोको क्षेत्र हो ।

तीन हजार ६ सय ७२ मिटर उचाइमा अवस्थित पोखरीमा वैशाख चण्डी पूर्णिमा र जनैपूर्णिमाको दिन मेला लाग्छ । मध्यपहाडी जिल्लाको माझकिराँतमा अवस्थित यस जिल्ला प्रख्यात सँगै यहाँका विभिन्न स्थानका जनताले भने जस्तो विकासको स्वाद चाख्न पाएको छैन । संस्कृतिमा किराँत बाहुल्य रहेको यस जिल्ला भ्रमण तथा अवलोकनका लागि ट्याम्के डाँडा, मैयुङ डाँडा, साल्पा सिलिचुङ, षडानन्दको जन्मभूमी दिङ्ला, सिद्धकाली मन्दिर, नाग छाँगा, बैकुण्ठे, ऐतिहासिक हतुवागढी आदि पनि पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् ।

किन घुम्ने सुनसरी ?
धार्मिक, प्राकृतिक विविधताले भरिएको सुनसरी जिल्ला प्रदेशमा सबैभन्दा जनधनत्व रहेको जिल्ला हो । बराहक्षेत्र, बुढासुब्बा धार्मिक आस्था बोकेको यस जिल्लाको प्रख्यात धार्मिकस्थल हो । कोसीटप्पु बन्यजन्तु आरक्षण पंक्षीका लागि सुरक्षित वासस्थान मानिन्छ । एक सय ७५ वर्ग किमिमा फैलिएको कोसीटप्पु सुनसरी, सप्तरी र तमोर, अरुण, दूधकोसी, तामाकोसी, सुनकोसी, लिखु र इन्द्रावती मिसिएको सप्तकोसी यहाँको अर्को आकर्षण हो । चताराधाम पनि सुनसरीमै अवस्थित प्रसिद्ध धार्मिक स्थल हुन् । धरान, इटहरी, इनरुवालगायत सहरका कारण पनि सुनसरी चर्चित छ ।

[caption id="attachment_221518" align="alignnone" width="2560"] [/caption]

[caption id="attachment_221526" align="alignnone" width="977"] [/caption]

[caption id="attachment_221545" align="alignnone" width="1024"] default[/caption]

विभिन्न स्रोतबाट संकलित तस्बिर  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्