नेपाल र यूएईबीचको फाइनल खेल सोमबार बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यो नेपालका लागि ५१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल समेत हुनेछ ।
बिहान टस भएसँगै खेल सुरु भइसकेपछि वर्षाले बिथोलिएको अवस्थामा अपराह्न ४ः४० सम्मको समयमा कम्तीमा २० ओभरको खेल सञ्चालन गर्ने प्रयास गरिनेछ । एकदिवसीय क्रिकेटमा खेलको नतिजा आउन कम्तीमा २० ओभर खेल्नैपर्ने हुन्छ ।
बिहान ९ बजे हुने खेलको अधिकतम समय (कट अफ टाइम) साँझ ५ः२४ सम्म रहनेछ । यदि ४ः४० भित्र कम्तीमा २० ओभरको खेल संचालन गर्न असम्भव भएमा अम्पायरले सुपर ओभरबाट खेलको नतिजा निकाल्न पाउनेछन् ।
पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर हुनेछ । दुवै सुपर ओभरबाट पनि खेलको नतिजा ननिस्किएमा आईसीसी वरीयताका आधारमा विजेता छिनोफानो हुनेछ ।तर सोमबार नियमित वा सुपर ओभरको खेल हुन सकेन भने मंगलबार खेलाइनेछ ।
टस भएर खेल संचालन भइसकेको अवस्थामा वर्षा बाधक भएको छ भने जुन अवस्थाबाट खेल स्थगित भएको छ सोही अवस्थाबाट भोलिपल्टको खेल सुरुवात हुनेछ ।
मंगलबार पनि वर्षाले असर गरेको अवस्थामा अघिल्लो दिनको जस्तै कम्तीमा २० ओभरको खेल खेलाउने प्रयास हुनेछ, त्यो पनि सम्भव नभए सुपर ओभर हुनेछ । खेलमार्फत हुने सबै प्रकारका नतिजा असम्भव भएको अवस्थामा आईसीसी वरीयताका आधारमा अगाडि रहने टिमलाई उपाधि विजेता बनाइनेछ ।
आईसीसी वरीयतामा नेपाल अगाडि (१४औं) स्थानमा रहेका कारण दुवै दिन कुनै पनि तरिकाबाट खेलको नतिजा नआएको अवस्थामा नेपाल विजयी हुनेछ ।