विराटनगर । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् ।
मानव अधिकारका लागि पिपुल फोरमले विराटनगरमा बिहीबार आयोजना गरेको वैदेशिक रोजगारका समसामयिक नीति तथा निर्देशिकाहरुबारे सरोकारवाहरुबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
उनीहरुले देशमा पर्याप्त रोजगारीको अवसर नभएको अवस्थामा वर्षेनी लाखौं युवाहरू विदेशीन बाध्य भएकाले वैदेशिक रोजगरीमा जानेहरुको लागि रोजगार सुरक्षित, व्यवस्थित र मर्यादित बनाएर अगाडी लैजानुपर्नेमा जोड दिए ।
नेपालीहरूका लागि वैदशिक रोजगारको यात्रा रहर भन्दापनि बाध्यता बन्दै गएको प्रति उनीहरुले चिन्ता व्यक्त गरे । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जम्मा २१ लाख ९० हजार ५९२ व्यक्तिहरू विदेशमा बसोबास गरिरहेका देखिन्छन् । जसमध्ये १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ महिला रहेका छन् ।
आ.व. २०५०-५१ देखि अ.व २०७८-७९ सम्ममा कूल ७५ लाख नेपालीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क रहेको छ । जसमध्ये २०७८-७९ मा मात्र ६ लाख ३० हजार ९० व्यक्तिहरूले श्रम स्वीकृति लिएका थिए । विदेशमा रहेका नेपालीहरूले पठाएको विप्रेषणले नेपालको कुल गार्हस्थ उत्पादनमा २०.८ प्रतिशत योगदान पुर्याएको छ । विप्रेषणले आप्रवासी श्रमिक र तिनको परिवारको शिक्षा, स्वास्थ्य, आर्थिक तथा सामाजिक विकासका साथै राष्ट्रको अर्थतन्त्रमा समेत ठूलो योगदान पुगेको पिपुल फोरमका संस्थापक अध्यक्ष अधिवक्ता सोम लुईटेलले बताए ।
कार्यक्रममा इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापा, जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन कुमार दाहाल, मानव अधिकार संजालका अध्यक्ष डिक प्रसाद घिमिरे लगायतले बोलेका थिए ।