विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि आगामी आर्थिक वर्ष सुरु हुनसाथ सम्पूर्ण बिक्रीमा रोक लगाउने तयारी सुरु गरेको छ । शहरको सरसफाई र मानवस्वास्थ्यमा यसले पार्ने असरलाई घटाउन विराटनगरमा सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिइएको इजाजत रद्द गर्ने तयारी सुरु गरिएको हो ।
विराटनगर महानगरपालिका सरसफाई तथा वातावरण शाखा प्रमुख पुनम दाहालका अनुसार गत बैशाख १ गतेदेखि सुरु गरिएको अभियानले केहि सार्थकता पाएपनि त्यसको पूर्ण नियन्त्रणका लागि इजाजत रद्द गर्नुपर्ने देखिएको छ । व्यवसाय नै दर्ता गरेर बिक्री र वितरण गर्ने इजाजत लिएका व्यापारीको पसलमा छिरेर नियन्त्रण गर्न कानुनले नदिएपछि इजाजत रद्द गर्ने तयारीमा पुगिएको हो ।
महानगरले चालेको अभियानमा सार्वजानिकस्थल आसपासको २०० मिटर दुरीमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा ८० प्रतिशत नियन्त्रण भईसकेको दाहालको दावी छ । यद्यपी सार्वजानिकस्थल मन्दिर, मस्जिद, गुम्बा, विद्यालय, सार्वजानिक सरोकार राख्ने कार्यालय आसपास, अस्पताल आसपासमा लुकाईछिपाई बिक्री गर्नेमाथि महानगरले निगरानी सुरु गरेको छ । विराटनगर बजारमा अहिले बाहिरै झुण्ड्याएर सुर्तीजन्य वस्तुको बिक्री वितरण रोकिएको भएपनि भित्र राखेर बिक्री वितरण भईरहेको छ । त्यसमा पनि इजाजत नलिएका र उपभोग्य वस्तु बिक्री गर्ने पसलमा समेत यसको कारोबार हुने गरेको छ । महानगरपालिकाले यो सुचना राखेपनि पसलमा पसेर खानतलासी लिन नसकेको दाहालको भनाई छ । आफैंले इजाजत दिएर आफैंले खानतलासी गर्ने र नियन्त्रणमा लिने स्थिति भएन, शाखा प्रमुख दाहालले भने–आगामी असार मसान्तसम्म सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवन नगर्न प्रचारात्मक कार्यक्रम गरिनेछ, साउनपछि इजाजत रद्द गरेर कानुनी कारवाही सुरु गरिनेछ । दाहालले इजाजत नलिएका पसलबाट भईरहेको बिक्रीलाई मध्यनजर गरेर निगरानी समेत बढाईरहेको बताए ।
सरकारले ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन –२०६८, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली –२०६८ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका –२०७१ गरी तीनवटा कानून ल्याएको छ । त्यो कानुनको कार्यन्वयनमा महानगरपालिकाले कडाईका साथ उभिने तयारी गरेको हो । तर, कानुन कार्यन्वयन गर्नका लागि कानुनतः बिक्रीका लागि दिएको इजाजत पनि रद्द गर्नुपर्ने भएकोले अहिले त्यसको तयारी भईरहेको दाहालले बताएका छन् । नेपालमा २३.७ प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको पाइएको छ जसमा चुरोट सेवन गर्ने बढी पाइएका छन् । फोक्सोको क्यान्सरबाट मृत्यु हुनेमा पुरुष १८ प्रतिशत र महिला ७.७ प्रतिशत रहेको छ । सन् २०१९ मा गरिएको नसर्ने रोगको सर्वेक्षणमा ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाहरुले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको देखाएको छ । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका अमरदीप देवले धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको तथ्यांक रहेको बताएका छन् ।
सरकारले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन –२०६८, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली –२०६८ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका –२०७१ गरी तीनवटा कानून ल्याएको छ । देवका अनुसार नीति नियम कडा देखिए पनि नेपालमा कार्यान्वयन भने फितलो देखिएको छ । कानुन अनुसार यसलाई नियन्त्रणका लागि कडाई गरिने भएको छ ।
सूर्तीजन्य पदार्थको निषेधित क्षेत्र घोषणा गरेको छ । साथै यस्ता पदार्थको प्रयोग परित्याग लगायतका कार्यक्रमहरु अघि सारेको छ । तर, पनि परिणाम राम्रो देखिएको छैन । सूर्तीजन्य पदार्थको बट्टामा त्यसको प्रयोगले हुने खतराको संकेत राखिएको छ । सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको प्रयोगमा प्रतिवन्ध नै लगाइएको छ । नियमित अनुगमन र कार्वाहीमा भएको फिलतोपनाले कानुनको कार्यन्वयन कमजोर मात्रै नभई शहरको सरसफाई र मानवको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।
सुर्तीजन्य पदार्थ सेवनका कारण निस्कने हरितगृह ग्यासले वायु प्रदूषण गराउनाले आफ्नो स्वास्थ्य र वातावरण सुरक्षित राख्न धुम्रपान त्याग्नुपर्ने चिकित्सकहरुको सुझाव छ । सन् २०२० को विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने विश्वमा वार्षिक २४ लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ । त्यसैगरी सन् २०१८ को तथ्यांक हेर्दा ९६ लाख मानिसहरुको क्यान्सरबाट मृत्यु भएको छ । विश्वभर मृत्यु हुने कारणमध्ये क्यान्सर दोस्रो नम्बरमा पर्छ । २५ प्रतिशत क्यान्सरबाट मृत्यु सुर्तीजन्य पदार्थका कारण हुने गरेका छन् जसमा २० प्रकारका क्यान्सर हुन सक्ने सम्भावना रहन्छ ।
इजाजत लिएर मात्रै पाइन्छ बिक्री गर्न
सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था २०७३ सालदेखि लागु गरेको थियो । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा ११ (६) अनुसार सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्न सक्ने कानुनी व्यवस्था भएबमोजिम सरकारले यस्तो निर्णय गरेको थियो ।
उक्त दफा बमोजिम अनिवार्य रूपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी कारोबार गर्न दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिएर सूर्तीजन्य पदार्थको मात्र कारोबार गर्ने छुट्टै पसलबाट मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरिएको थियो । दर्ता गर्ने निकायमा दर्ता नभई र इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा ऐनबमोजिम कारबाही गरिने व्यवस्था छ ।
इजाजतपत्र लिएका बिक्रेताले आफ्नो पसल अगाडि सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने तथा गर्भवतीलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना टाँस्नुपर्ने प्रावधान छ ।
दैनिक अन्य उपभोग्य वस्तु बिक्री गर्ने स्थानमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न पाइने छैन । सोको अनुगमन गर्नका स्थानीय प्रशासनलाई सरकारले जिम्मेवारी दिएको छ । हालसम्म सुर्तीजन्य पदार्थ चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा आदि सार्वजनिक रूपमै बिक्रीवितरण हुँदै आइरहेको छ ।