विराटनगर । कोशी नाम खारेजको माग गर्दै प्रदर्शनमा आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन आईतबारबाट सुरु भएसँगै पहिचान पक्षधर विहानैदेखी देवकोटा चौक स्थित प्रदेशसभा बाहिर आसपास तैनाथ रुपमा खटेका थिए ।
त्यति कै मात्रामा सुरक्षाकर्मीले कडा सुरक्षा दिएको थियो । तर आईतबार विहान थोरै मात्रामा रहेका पहिचान पक्षधरका केही कार्यकर्ता लगायत केन्द्रिय नेताहरुलाई भने प्रहरीले गिरफ्तार गरेको थियो ।
स्थानीय प्रशासनले प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा वरपर भेला भएको भएको भन्दै किराँत राई यायोक्खाका केन्द्रीय जीवन हाताचु राई, उपाध्यक्ष देवान राई, महासचिव भीम राई, उपमहासचिव मन्जु सोताङ, सचिव नागेशचन्द्र राई, सहकोषाध्यक्ष छिला राई, किरण राई लगायत ४५ जना भन्दा बढी प्रदर्शनकारी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सहिद रंगशालामा भेला भएका पहिचान पक्षधरले दिउँसो १ बजेदेखि देवकोटा चौकमा प्रदर्शन गरेका थिए । सुरुमा प्रहरी प्रदर्शनकारी विच झडप हुदाँ सो क्षेत्र तनावग्रस्त बनेको थियो । प्रर्दशनका क्रममा आन्दोलनकारीहरुले प्रहरीलाई ढुङगामुडा गर्नुका साथै टायर बालेर प्रर्दशन गरेका थिए । प्रदर्शनकारीले भाटा, ढुंगा, गुलेली, बोतलले प्रहरीमाथि आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीले पनि दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा दर्जनौ प्रदर्शनकारी र सुरक्षाकर्मी घाईते भएका छन् । केही प्रर्दशनकारीलाई सुरक्षाकर्मीले घेरा हाली नियन्त्रणमा लिदै कुटपिट समेत गरेका छन् । घाईतेहरुको कोशी अस्पतालसँगै विराटनगरका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ।
उता प्रदर्शनकारीहरुले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको झ्यालका सिसा लगायत २ वटा गाडीमा समेत क्षति पुर्याएका छन् ।
प्रदर्शनकारीले ढुङगाले हानेर गाडीको झ्याल र मन्त्रालयको झयालका सिसाहरु फुटाएका छन् ।