विराटनगर । विपद व्यवस्थापनमार्फत जोखिम न्यूनीकरण गरी धनजनको क्षतिबाट बचाउन उद्धार अभ्यास गरिएको छ ।
नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय, संवाद र उद्धारमा कुनै पनि प्रकारको दुविधा नहोस् भन्ने उदेस्यका साथ मंगलबार बेलका नगरपालिका–८ चतरा पुलमुनिको सप्तकोशी खोलामा संयुक्त सिमुलेसन अभ्यास गरिएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय विपद प्रतिकार्य अभ्यासमा नेपाली सेना पुर्वी पृतना हेडक्वाटरको ९ युनिट, सशस्त्रको बराह बाहिनी मुख्यालय र कोशी प्रदेश प्रहरी कार्यालयका सुरक्षाकर्मीको सहभागिता थियो । संयुक्त उद्धारटोलीले परिमार्जित उद्धार तरिकाको प्रयोग र प्रदर्शन, स्वीफ्ट वाटर रेस्क्यु, राफ्ट उद्धार, रबर बोटको फ्लिप रिफ्लिप प्रदर्शन, डोरीबाट उद्धार, गोताखोरद्वारा मृत व्यक्तिको खोज र व्यवस्थापन, बाढीबाट प्रभावित समूदायका पीडितको उद्धार कार्यको प्रदर्शन तथा अभ्यास गरिएको थियो ।
अभ्यास कार्यक्रम पस्चात प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आपतकालिन उद्धार कार्यका लागि सुरक्षाका तीन अङ्ग सक्षम र मुस्तैद रहेको बताए । उनले सिमित श्रोत र साधनका वावजुद सेना, सशस्त्र र जनपद प्रहरीले उद्धार कार्यमा उच्च निपुणता देखाएको र विपद व्यवस्थापनको लागि चाहिने आवश्यक सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।
नम्बर २ बाहिनीपति हिलेका सहायक रथी महेशकुमार थापाले प्रदेश स्तरको अभ्यासमा मोरङ र सुनसरीमा तैनाथ फौज सहभागि भएको बताए । उनले हाल प्रि मनसुनको समय भएको र विगतको जस्तो धनजनको क्षति नहोस् र विपदको अवस्थामा सुरक्षाफौज र सरोकारवाला निकायको के कस्तो समन्वय रहन्छ र कुनै पनि प्रकारको दुविधा नहोस् भन्नका लागि अभ्यास संचालन गरिएको बताए ।
उनले डुबान, कटान र नदीमा डुबेको व्यक्तिलाई आफुसंग उपलब्ध साधन श्रोत र उद्धार सामग्रीको प्रयोग गरेर नजिकको सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउने जस्ता अभ्यास गरिएको स्पष्ट पारे ।
अभ्यास कार्यक्रममा प्रदेशका सुरक्षा निकायका प्रमुखहरु, मोरङ , सुनसरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु लगायत संचारकर्मीहरु र स्थानीयवासीहरु समेतले अभ्यासको अवलोकन गरेका थिए ।