विराटनगर । भारतको बथनाहादेखि मोरङको कटहरीसम्मकार्गोरेल विस्तार गर्ने योजना अगाडी बढेको १८ वर्षपछि बिहीबार कार्गो रेल आयो । सन् २००५ मा नेपाल–भारतबीचको सम्झौताअनुसार १८.६ किलोमिटर दुरीमा कार्गोरेल ल्याउने उल्लेख थियो । सम्झौताअनुसार नेपालले विस्तार क्षेत्रका लागि १२९ बिघा जग्गा उपलब्ध गराउनुपर्ने र भारतले निर्माण गर्ने शर्त थियो ।
अठार वर्ष अगाडीदेखि १८ किलोमिटर दुरीको रेल–वे विस्तारको काम अझैसम्म टुङ्गिएको छैन । यद्यपी विराटनगर–१८ बुधनगरस्थित नेपाल कष्टम यार्डसमम बिहीबार कार्गोरेलले औद्योगिक कच्चा ल्याएको छ । विस्तार क्षेत्रमध्ये विराटनगर–१८ बुधनगरस्थित आईसिपीसम्म कार्गोरेल परीक्षण २०७६ कार्तिकमा भएको थियो । लिक परीक्षण गरिसकेपछि आईसिपी क्षेत्रसम्म कार्गोरेल ल्याउन सकिने अवस्था थियो । लिक परीक्षणको ४२ महिना पुग्दासम्म मात्रै कार्गोरेल आएको छ ।
२०७६ कार्तिकमा लिक परीक्षण भएको ७.६ किलोमिटर दुरीमा कार्गोरेल ल्याएर विराटनगर भन्सार क्षेत्रसँग कनेक्सन गर्न सकेको भए ४२ महिनामा ७६ अर्ब २० करोड रुपिँया नेपाली उद्योगीहरुको बचत हुने थियो । त्यो नेपाली पैसा भारतमा बुझाउनु छ ।
विराटनगर भन्सारमा दैनिक ३०० ट्रक मालवस्तु भित्रन्छ । जसमध्ये ८० प्रतिशत भारतबाट र २० प्रतिशत तेस्रो मुलुकबाट वस्तु आयात हुन्छ । कोलकाताबाट विराटनगरसम्म सडक मार्गबाट ढुवानी गर्दा प्रतिकेजी ३ रुपिँया भारु पर्दछ । मालवहाक सवारीमा १५ टन सामान आयात गर्दा ४५ हजार रुपिँया लाग्दछ । बथनाहा–आईसिपीसम्म कार्गोरेल आउँला तेस्रो मुलुकबाट कोलकाता बन्दरगाहा आएको सबै सामान र भारतबाट आयात हुने ६० प्रतिशत मालवस्तु कार्गो रेलबाट आउनेछ ।
दैनिक ३०० ट्रकमध्ये २४० ट्रक मालवस्तु सिधै आईसिपीमा आउँदा ढुवानी खर्च १ रुपिँया ९५ पैसा प्रतिकेजी पर्नेछ । सडक मार्गबाट आयात हुँदा प्रतिकेजी ३ रुपैँया तिर्नु पर्ने भएकोले रेलमार्गमा प्रतिकेजी १ रुपैँया ५ पैसा बचत हुने दावी छ ।
यसरी दैनिक २४० ट्रक मालवस्तु रेलबाट आयात हुने अवसर सिर्जना भए ६० लाख ४८ हजार रुपिँया बचत हुनेछ । उद्योगीको प्रति १५ टन ढुवानीमा भारतीय रुपिँया १५ हजार ७५० बचत हुने अनुमान छ ।
सम्झौता अनुसार २०६८ बाट काम सुरु गरेर २०७३ मा सम्पन्न हुनुपर्ने आयोजना अहिले पनि बुधनगरसम्म मात्रै सम्पन्न भएर सञ्चालनमा आएको छ । यद्यपी यो कटहरीसम्म आउँदा अझै लाभ लिन सकिन्छ ।