-नवीन अभिलाषी
पहिरोमुनी छु - अनिदो ।
तिमी आउनु आफ्नो देश छोडेर
छोडेर सरकारी जागिर
च्यातेर नागरिकता
आफ्नो आमालाई छोडेर भएपनि तिमी आउनु ।
केहि हजार केहि सय केहि किलोमिटर पर…
पहिरो खसिरहेको पहाड मुनी
म एउटा युगल चिहानको बन्दोबस्त गरिरहेछु ।
प्रकाशको एक निमेषभरको बाटो
बादललाई एक याम हिँड्नुपर्ने हुन सक्छ
तिमीलाई नपुग्न सक्छ एक युगले
तिमी साइत नहेरी आउनु ।
एक कालखण्ड म खडेरी बाँचिसकेको छु ।
एक युग म मरुभूमी हाँसिसकेको छु ।
तिमी मात्र एक पल वर्षात लिएर आउनु
चाहे त्यो आसु कै किन नहोस्
तिमी जर्जर जीवनका गम्भीर दुखहरु लिएर आउनु ।
यता पनि
खुल्ला आकाश छ, तिमीलाई उड्न मिल्ने
नडराउनु, थुन्न पुग्ने पिञ्जडा समेत छैन मसँग ।
छ ओरालो पृथ्वी, तिमीलाई बग्न मिल्ने
नधकाउनु, बाँध लाउन पुग्ने यो माटो पनि हैन मेरो ।
म आफै त पहिरो
यो गृष्मकालिन उष्णतामा म आफ्नै रोदन गाइरहेछु ।
तिमी आउनु आफ्नै जीवनका लोकभाका लिएर
भर्खर आँधी थामिएको छ यता
भुँईमा खसेर लडिरहेछ मन्दिरको गजुर
भाँचिएका रुखका हाँगाहरुले छेकिरहेछन् - बाटो
झ्यालका पर्दाहरु लत्रिरहेछन् च्यातिएर
सीसाहरु फुटेका छन्
र पर… कतै रोइरहेछन् बच्चाहरु
गहुँबारीमा लागेको डढेलो निभेको छ भर्खरै
आकाशमा हराएको छैन धुवाको मुस्लो
लहराईरहेछ हावामा हपक्क पार्ने राप
र खरानीमा बालाका आकृतिहरु जिउँदै छन् अझै ।
अचानक खसेको सुख्खा पहिरो रोकिएको छ यता
यो क्रमभंगतामा भग्न छु म
दुर्भाग्य जिउँदो छु, तर एकदम जीर्ण ।
तिमी आउनु आँपका बतिलासँग खसेर
लिचीका चिचिलासँग कुहिएर
पर्पल जाकाराण्डाका पत्रदलसँग चोइटिएर
म पहिरोमुनी छु- एक शताब्दी लामो अनिदो ।