सामुदायिक विद्यालयमा प्रविधिमा आधारित शिक्षा लागू गर्नुपर्नेमा विराटनगर महानगरको जोड

<span class='c1'>सामुदायिक विद्यालयमा प्रविधिमा आधारित शिक्षा</span> <span class='c2'>लागू गर्नुपर्नेमा विराटनगर महानगरको जोड</span>

विराटनगर ।विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित सामुदायिक विद्यालयहरुमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता शिक्षा लागू गर्ने तयारी गरेको छ ।

महानगरमा नयाँ नेतृत्व आएसँगै शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेको महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागू गर्नका लागि विषयविज्ञसित छलफल गरेको छ । महानगरका मेयर नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्वबजारमा माग भइरहेको जनशक्ति उत्पादन हुने बताउनुभयो ।

उहाँले प्रविधिमार्फत घरमै बसेर पनि काम गरेर राम्रो आम्दानी गर्न सकिने अवस्था रहेको उल्लेख गर्नुभयो । त्यसका लागि अब विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधिप्रति पोख्न बनाउनु आवश्यक रहेको औंल्याउनुभयो । शिक्षकहरु पनि समयअनुसार चल्न सिक्नुपर्ने उहाँको भनाइ थियो । कोइरालाले तीनै तहको सरकारबीच समन्वय नभएकै कारण शैक्षिक क्षेत्रमा पनि सोचेजस्तो सफलता प्राप्त हुन नसकेको प्रस्ट पार्नुभयो । उपमेयर शिल्पा निराला कार्कीले महानगरका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै प्रविधिमा आधारित शिक्षामा जोड दिइरहेको जानकारी दिनुभयो ।
महानगरले आइतबार विषयविज्ञ र सरोकारवालाहरुसित आयोजना गरेको छलफल तथा अनुभव आदानप्रदान कार्यक्रम उहाँले बदलिँदो समयसँगै परिवर्तन हुन नसके पछि परिने बताउनुभयो । डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षा दिन सके विश्वका जुनसुकै मुलुकमा गएर पनि रोजगारी पाउने उहाँको दाबी थियो ।

प्रमुख अतिथिसमेत रहनु भएका पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई प्रविधिसँगै प्रविधिलाई सीपसँग सीपलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई आयआर्जनसँग जोड्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले इक्वालिटी फाउण्डेसनले डिजिटल साक्षरताका लागि गरिरहेको कार्यको प्रशंसा गर्नुभयो । उहाँले शिक्षालाई प्रविधिसित जोड्न ढिलो गर्न नहुनेमा जोड दिनुभयो ।
पूर्वविद्यार्थी समाज, आमा समूह गठनसँगै गैरआवासीय नेपालीलाई जोडेर नेपालमा रहेका सामुदायिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षा लागू गर्न सहजीकरण गर्ने इक्वालिटी फाउण्डेसन अमेरिकाका अध्यक्ष प्रा. मेदनी अधिकारी प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रविधिमा आधारित शिक्षा लागू भएमा मात्रै उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा सक्षम हुने धारणा राख्नुभयो । विदेशमा रहेका थुप्रै नेपालीहरुले आफ्नो मातृभूमिको सेवा गर्नका लागि उपयुक्त अवसर र माध्यम खोजिरहेको समेत उहाँले उल्लेख गर्नुभयो । उहाँले आफ्नो संस्थाका माध्यमबाट विराटनगरमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विदेशका रहेका नेपालीलाई जोड्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा मोरङको सुन्दरहरैंचास्थित सुकुना माविका सहायक प्रधानाध्यापक हिक्मत बस्नेत, नरग्राम माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद कोइराला, झापाको दमकस्थित सिंहदेवी माविका घनश्याम अधिकारीले आफ्नो विद्यालयमा भइरहेको डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित शिक्षाका विषयमा आफ्ना अनुभव प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा प्रदेश लगानी प्राधिकरण कोशी प्रदेशका निर्देशक डा. सरोज कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईलगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्