विराटनगर । कोशी प्रदेश सरकारले पुनः नामाकरण संघर्ष समितिसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
कोशी नाम खारेजीका माग राख्दै आइरहेका पुनः नामाकरण संघर्ष समितिसँग वार्ता गर्नका निमित्त खानोपानी, सिचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा बुधबार तीन सदस्य वार्ता टोली गठन गरेको हो ।
सामाजिक विकासमन्त्री बुद्धि कुमार राजभण्डारी र सरकारका प्रवक्ता समेत रहेका कृषि उद्योग, सहकारी मन्त्री भक्तिप्रसाद सिटौला समेत वार्ता सदस्यमा रहेको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
गत फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै पहिचानपक्षधर सडक आन्दोलनमा छन् ।