विराटनगर । विराटनगरमा नि:शुल्क खानेपानी वितरण कार्य सुरु गरिएको छ।
विराट व्यापार संघले जेष्ठ २४ गतेदेखि असार १ गतेसम्म विराटनगरको शनि मन्दिर चौक र भृकुटी चौकमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी र चिसो जुस वितरण कार्य सुरु गरेको हो।
संघले एकैपटक विराटनगरको दुई बेग्लाबेग्लै स्थानमा टेन्ट लगाएर चिसो पानी र चिसो जुस वितरण अभियान सञ्चालन गरिएको हो ।
बुधबार विराट व्यापार संघ विराटनगरका अध्यक्ष नरेशकुमार खत्री, वरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल (अग्रवाल), महासचिव प्रविण अग्रवाल, कार्यसमिति सदस्य तथा महिला उद्यमी समिति अध्यक्ष सरस्वती ओझा र संघका कार्यकारी सचिव धरणीधर निरौलाले शनि मन्दिर चौकमा चिसो पानी वितरण अभियानको शुभारम्भ गरेका हुन् ।
भृकुटी चौकमा संघका कार्यसमिति सदस्य भवेष पौडेल र महिला उद्यम समितिका सदस्य सोनिया आचार्य चिसोपानी वितरण अभियानमा सहभागिता जनाएका थिए । विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले भृकुटी चोकमा चिसो पानी र चिसो जुस खाएर अभियानको शुभारम्भ गरेकी थीइन।
संघका अध्यक्ष नरेशकुमार खत्रीले विराटनगरको गर्मीमा बाटो हिडिरहेका सर्वसाधारणलाई केहि हदसम्म सितलता प्रदान गर्ने उद्देश्यका साथ १० दिने चिसो पानी र चिसो जुस वितरण अभियान सञ्चालनमा ल्याएको बताए ।