-सुरज दाहाल
भारतले भरखरै (मे २८) मा नयाँ उद्घाटन गरेको संसद भवनमा अखण्ड भारत भन्दै प्राचीन भारत दाबी गरिएको नक्साको भित्तिचित्र राख्यो। भित्तिचित्रले अफगानिस्तानका केही भागहरू र सम्पूर्ण पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका र म्यानमार सहित दक्षिण एसियाको धेरै भूभाग देखाउँछ। यो नक्सालाई भारतको क्षेत्रीय महत्वाकांक्षा विस्तारवादको प्रतीकको रूपमा व्याख्या गर्न सकिन्छ र नेपाल, पाकिस्तान र बंगलादेशबाट आक्रोशित प्रतिक्रियाहरू आइरहेको छन् , बाकि दुनियाले पनि हेरिरहेको छ।
भारतले संसद भवनमा राखेको भित्तिचित्रले भारतको वर्तमान सिमानालाई प्रतिबिम्बित गर्दैन र यो उग्रराष्ट्रवादी राजनीति गर्दै आएको बिजेपी र उसको खस्किदै गएको साखको प्रतिविम्ब हो। भारतको राजनीतिक परिदृश्यमा राष्ट्रियतालाई चरम सीमामा प्रचार गरिदै आएको छ र दक्षिणपन्थीहरूले सत्ता टिकाइ राख्ने हतियार पनि यसैलाई बनाएका छन्। बीजेपीले धार्मिक प्रतीक र बयानहरुको प्रयोग अहिलेबाट गरेको हैन बीजेपीको उदय देखि नै गर्दै आएको छ, उदाहरणका लागि, बीजेपीको जुलुसमा हिन्दू झण्डा फहराउने , र यसको विज्ञापनमा हिन्दू धार्मिक छविहरू प्रयोग गर्ने काम गर्दै आएको छ यो भारतका जटिल समस्याहरुबाट आम हिन्दू मतदाताहरूको ध्यान हटायर धर्मान्ध बनाउने र भोट बटुली राख्ने प्रयास मात्रै हो। बीजेपीले इतिहासको हिन्दू केन्द्रित दृष्टिकोणको प्रवर्द्धन गर्दै आएको छ जसमा उसको कुनै योगदान छैन ।इतिहासको हिन्दू केन्द्रित दृष्टिकोणको प्रवर्द्धन पाठ्यपुस्तक, संग्रहालय , र अन्य शैक्षिक संस्थाहरु मार्फत गरिएको छ। भाजपाले मन्दिर र अन्य हिन्दू धार्मिक स्थलहरूको निर्माणलाई आफ्नो उपलब्धिको रुपमा प्रचार गर्दै आएको छ र यसलाई कतिपयले भारतका अन्य धार्मिक समूहहरूको इतिहास मेटाउने प्रयासको रूपमा हेरेका छन्, र हिन्दू धर्ममा केन्द्रित भारतीय इतिहासको कथा सिर्जना गर्ने प्रयास गरेका छन्। यो बाहेक गोदी मिडियाको रुपमा प्रख्यात ठुला मिडिया घरानाहरु मार्फत बिजेपीले आम जनताको समस्याहरुलाई बहसमा आउन नदिनका लागि एकोहोरो उग्र राष्ट्रवादको प्रचार गर्दै आएको छ।
एस एम नजमुज साकिब(२०२१ ) आफ्नो रिसर्च पेपरमा निष्कर्ष निकाल्छन भारतमा फासिवाद वा उग्रराष्ट्रियताको अंकुरण हुदै गर्दा मानवअधिकारको अवहेलना भएको छ , कर्पोरेट घरानाहरुको शक्तिको संरक्षण भएको छ यौनवाद चरम उत्कर्षमा छ मानिसहरुको ध्यान जटिल समस्याहरुबाट राष्ट्रिय सुरक्षाप्रतिको लगावमा केन्द्रित गरिएको छ ,व्यापक भ्रष्टाचार छ , जालसाजीपूर्ण चुनावहरु हुदैछन , श्रम अधिकारको दमन गरिएको छ बौदिक वर्गको अपमान गरिएको छ।
डा.देबप्रसाद रोचक रुपमा अखण्ड भारतका प्रचारकलाई "कालस्तंभन यज्ञ" गर्न सुझाब दिदै समयको भ्रम सिर्जना गर्न सुझाव दिन्छन् यो कालस्तंभन यज्ञ भगवान श्री कृष्णले कौरव सेनाको मनोबाल गिराउन सुर्यास्तको भ्रम सिर्जना गरेको प्रसंग सग जोडिन्छ। , रुपा बंद्योपाध्याय अखर बंद्योपाध्याय (२०२२ ) वीर सावरकरद्वारा प्रस्तावित "एक राष्ट्र, एक धर्म, एक भाषा, एक नागरिक संहिता" सूत्रको चर्चा गर्दै यो विचारधाराको मशालवाहकको रूपमा भारतीय प्रधानमन्त्री मोदीलाई व्यंग गर्दछन।बंद्योपाध्यायको दाबी छ अखंड हिन्दू राष्ट्र वा अखंड हिन्दुस्तानको विचार भारत एक कालातीत( टाइमलेस ) र अपरिवर्तनीय अस्तित्व हो भन्ने धारणामा आधारित छ तर यो गलत छ । भारत एक लामो र जटिल इतिहास भएको देश हो, र यसको सिमाना शताब्दीमा धेरै पटक परिवर्तन भएको छ।अखण्ड हिन्दुस्तानको विचार पनि एकल, एकीकृत हिन्दू पहिचान छ भन्ने धारणामा आधारित छ यो अनुमान पनि गलत छ भारतमा धेरै फरक हिन्दू समुदायहरू छन्, र तिनीहरूको फरक भाषा, संस्कृति र परम्पराहरू छन्। संविधान अनुसार भारत एक धर्मनिरपेक्ष लोकतन्त्र हो भन्ने तथ्यले अखण्ड हिन्दुस्तानको विचारलाई थप विरोधाभासपूर्ण बनाएको छ। धर्मनिरपेक्ष लोकतन्त्रमा राज्यले कुनै धर्म विशेषको पक्षधर हुनु हुँदैन। तर, अखण्ड हिन्दुस्तानको विचारलाई अगाडि सारिरहेने हो भने भारतमा हिन्दू धर्मको मात्रै अस्तित्व छ भनेर बुझुनु पर्ने हुन्छ। बंद्योपाध्यायको निष्कर्षमा अखण्ड हिन्दुस्तानको विचार खतरनाक र हानिकारक मिथक हो यो भारतमा अल्पसंख्यक समूहहरू विरुद्ध हिंसा र भेदभावलाई जायज ठहराउन प्रयोग गरिएको छ यो हिन्दू राष्ट्रवादलाई बढावा दिन पनि प्रयोग गरिन्छ, जुन अतिवादको रूप हो जुन भारतको धर्मनिरपेक्ष लोकतन्त्रको लागि खतरा हो।
विश्लेषक र बौद्धिक वर्गहरुहरू बीच यो व्यापक रूपमा स्वीकार गरिएको छ कि भारत अब "विश्वको सबैभन्दा ठूलो लोकतन्त्र" मानिदैन। २०२० मा, प्रजातन्त्रको गुणस्तरको मूल्याङ्कन गर्ने तीनवटा प्रमुख सूचकांकहरूले भारतको स्थितिलाई नराम्रो देखाएको छ । फ्रिडम हाउसले यसलाई "आंशिक रूपमा स्वतन्त्र" को रूपमा वर्गीकृत गरेको छ , इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले यसलाई "त्रुटिपूर्ण लोकतन्त्र" लेबल गरेको छ र भेराइटिज अफ डेमोक्रेसीले ले यसलाई "चुनावको निरंकुशता" को रूपमा चित्रण गरेको छ।
भारत आनुवंशिक, ऐतिहासिक र भाषिक रूपमा धेरै मानिसहरूको कुल योग हो। भारतीय एउटै 'शुद्ध जाति' हैन ८ ओटा मुख्य धर्ममा बाडिएको मानिसहरुको आस्था एउटा धर्म मात्रै हैन ,एक सभ्यताले सहस्राब्दीमा धेरै प्रकारका राजनीतिक एकाइहरूलाई जन्म दिन सक्छ, राज्यहरूदेखि साम्राज्यहरू सम्म र गणतन्त्रहरूसम्म हुनसक्छन । धेरै राजनीतिक संरचनाहरू पनि एकै समयमा विभिन्न क्षेत्रीय सीमाहरू भएका सभ्यताको सीमामा सह-अस्तित्वमा रहन सक्छन्, जसरी भारतमा प्रष्ट भइसकेको छ जहाँ विभिन्न राज्यहरू धेरै भाषाहरू, धार्मिक समुदायहरू, जातीय समूहहरू पनि सभ्यताको सीमामा अवस्थित हुन सक्छन र समुदायहरु बीच सह अस्तित्वको भावना हुन सक्छ।
भारतले संसदमा टासेको भित्तेचित्र फरक समयको भएका फरक इतिहास र संस्कृति भएका स्वतन्त्र राष्ट्रलाई अखण्ड भारतको परिकल्पनासँग जोड्ने परिकल्पना मात्रै हो बीजेपीको अतिराष्ट्रवादको राजनीति मात्रै हो। भारत अहिलको भूगोल भित्रै आफैमा खण्डित छ , हिन्दु मुस्लिमको नाममा , राष्ट्रवादी र अराष्ट्रवादीको नाममा , जातजातिको नाममा र यो खण्डिकरणको नेतृत्व सत्तासिन मोदी आफैँले गरिरहेछन बिजेपी आफैँले गरिरहेछ।