किमाथाङ्का । सङ्खुवासभामा बाढी पहिरामा परेर बेपत्ता भएका २१ मध्ये एक जनाको शव भेटिएको छ । आज चैनपुर नगरपालिका–१० निगुरेमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
शरीरको आधा भाग (कम्मर) भन्दा मुनि मात्र भेटिएका कारण शवको पहिचान खुल्न सकेको छैन । सुपर हेँवा हाइड्रोपावरबाट बेपत्ता भएका एकजना पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक गोदारले बताउनुभयो । फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता भएका थिए । बेपत्ता २१ जनामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना मजदुर हुन् । बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एकजना मजदुर अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बाढीले बगाउँदा सुपर हेँवाखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन् । गम्भीर घाइते दुवै जनाको हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले जिल्लाका विभिन्न ११ घरमा क्षति पुगेको छ । बाढीले तीनवटा पक्की पुलमा क्षति पु¥याएको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ ।