विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरणजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभएको छ । आइतबार नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्टम्यानेजमेन्ट’कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा ध्यानजान नसकेको बताउनुभयो ।
उहाँले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको धारणा राख्नुभयो । विद्युतीय, मेडिकल जन्य फोहोर व्यवस्थापन महानगरका लागि चुनौति पूर्ण रहेको कोइरालाको भनाई छ । विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरका रुपमा व्यवस्थापन गरिंदै आएको र यसरी गरिने फोहोर व्यवस्थापनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार इलेक्ट्रिकल र इलेक्ट्रोनिक सामानहरूमा हुने विभिन्न खालका एसिडहरूले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन् । यस्ता एसिड र केमिकलहरू भएका उपकरणको उचित व्यवस्थापन नगरे मानिसलाई क्यान्सरको जोखिममा पार्ने उहाँको भनाई छ । विद्युतीय फोहोर व्यवस्थापनका लागि आयातकर्ता, विक्रेता , प्रयोगकर्ता देखि सरकार समेत जिम्मेवार बन्नुपर्ने उहाँको सुझाव छ । ‘इ वेष्ट म्यानेजमेन्ट’का लागि छुट्टै ऐन निर्माणको आवश्यकता ठानेर नेपाल दूर सञ्चार प्राधिकरणले सुझाव संकलन समेत थालेको अर्यालले बताउनुभयो ।
महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख बाबुराम तिम्सिनाले इलेक्ट्रोनिक सामाग्रीको प्रयोगपछिको व्यवस्थापन जटिल बन्दै गएको बताउनुभयो । महेन्द्र मोरङ क्याम्पसमा पनि यस्ता सामाग्रीहरू धेरै प्रयोग हुने गरेको तर त्यस्ता सामाग्रीको व्यवस्थापनका लागि नेपालमा आवश्यक पूर्वाधार नहुँदा पुरानाधातुहरू सरह कवाडीलाई बिक्रि गर्ने गरिएको उहाँले बताउनुभयो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले इ वेष्ट म्यानेजमेन्टका लागि आवश्यक पूर्वाधार तयार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले पुराना विद्युतीय सामाग्री संकलन गरेर पुनःप्रयोगका लागि रिसाइकल गर्ने विषयमा उद्योग संगठन मोरङ सरकारसँग साझेदारी गर्न तयार रहेको धारणा राख्नुभयो ।
कवाडी व्यवसायी महासंघ मोरङका अध्यक्ष नुर मियाँले पुराना विद्युतीय सामाग्री संकलन गरेर रिसाइकलका लागि भारत पठाउने गरिएको बताउनुभयो ।नेपालमा पुराना विद्युतीय सामाग्रीको रिसाइलक गर्ने पूर्वाधार नभएका कारण कवाडीका रुपमा भारत निकासी गरिंदै आएको मियाँले जानकारी दिनुभयो ।कार्यक्रममा कम्प्युटर एशोसिएसन मोरङका सचिव अजित चापागाई, मोवाइल बितरण संघ मोरङका अध्यक्ष हरिप्रसाद उप्रेति विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले अवस्था भयावहहुनु भन्दा पहिलै सबैको संयुक्त प्रयासमा विद्युतीय फोहोरको व्यवस्थापनको काम थाल्नु जरुरी रहेको धारणा राखे ।