- भेषराज पोखरेल
तिम्रा गालीहरू बेस्वाद लाग्थे
घुम्नु, हल्लिनु अनि बरालिनु
बिनाकाम पाइलाहरू चालिनु
आवाद जिन्दगीका अभिन्न स्वाद लाग्थे
मिठो बाहेक घाँटीबाट केही नै छिर्दै नछिर्ने
तिम्रो नाउँमा खाएको उधारो कहिलै तिर्दै नतिर्ने
हरेक साँझ आँगनमा
छिमेकीका गुनासाहरूको चाङ लगाउनु
न भनेको मान्नु
न त सिन्को भाँच्न नै सघाउनु
नदेख्नु कहिले
तिम्रा पाप्रा उप्किएका हत्केलाहरू
मेरो खुसीका लागि उठेका ठेलाहरू
न त जिम्मेवारीको बोध जस्तो
केवल जोरिपारीको प्रतिशोध जस्तो
मेरो भविष्यको चिन्ताले
तिमी घर छोडेर हिँनेको बेला
थोपा थोपा पसिना बेचेर
मेरा रहरहरू किनेको बेला
जहिल्यै तिम्रा चोटप्रति उदासीन रहनु
आफ्नै स्वार्थमा हरबखत तल्लीन रहनु
अभावले प्वाल परेको तिम्रो गोजी नदेख्नु
एक मुठी खुसीका लागि
बन्दकी बसेर तिमीले गरेको खोजी नदेख्नु
तर आज
तिम्रा धाँजा फाटेका पैतालामा गाडिएका
ढिके नुन जस्ता दर्जनौं खिल याद आउँछ
जाबो पाँच रुपियाँ जोगाउन मोटर नचढेर
तिमीले हिँडेको हजारौं मील याद आउँछ
अनि
भोकले आलसतालस भएको बेला
आठानाको चिउरालाई
एक चिम्टी नुनमा मुछेर
तिमीले जोगाएको एक रुपियाँ सामु
करोडौंको वैभव पनि निराधार भइदिन्छ
हो "बा" तिम्रो चट्टान जस्तो शरीर सामु
मेरो कृत्रिम प्रतिष्ठाको पहाड पनि
माटोको थुप्रो जस्तै कमजोर लाचार भइदिन्छ
तिमीले खन्याएको निस्वार्थ प्रेम सामु
मैले पोखिरहेको कथित श्रद्धा पनि
प्रदर्शनीमा राखेको मुनाफायुक्त ब्यापार भइदिन्छ
मुनाफायुक्त ब्यापार भइदिन्छ!