-चन्द्र पौडेल
धान दिवस अर्थात् मुठी रोपेर मानो उब्जाउने दिन पनि भन्छन । परापूर्व कालदेखि नै हाम्रो मुलुकमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आईरहेको छ । मानो रोपेर मुरी उब्जाउने हिलो खेल्दै, दहि चिउरा खादैँ र धान रोपेर मनाउने परम्परा छ । रोपाई गर्ने व्यक्तिहरु रोपाई गर्दागर्दै खाजा खाने समयमा दही च्यूरा खाएर असारे भाखाको सुनौलो गीत गाउँदै शरीर र मनलाई ऊर्जामय बनाउने यो दिनको परम्परा छ ।
परापूर्वकालमा हाम्रा अग्रजहरुले जानकारी दिए अनुसार । धान रोप्ने दिन असार १५ नै कुर्नुपर्छ भन्ने थिएन मौसमले साथ दिए खेत भरी पानी जमे रोपारहरुलाई जानकारी गराएर फलानोको दिनमा धान रोप्ने भने पछि सवै रोपारहरु एकजुट हुन्थे । अघिल्लो दिन देखि गाउँघरतिर हलो तथा कोदालीको प्रबन्ध गर्नुको साथै गोरुहरुलाई तयारी अवस्थामा राखिन्थ्यो । कसैकसैले बेलुका देखिनै खानेकुराहरु तयारी अवस्थामा राख्थे भने कसैले गित गाउनको लागि परम्परागत मादलको जोहो पनि गर्थे ।
र भोलिपल्ट धान रोप्ने दिन सवै रोपारहरु खेतमा आईपुग्थे । सवै जनाले एक आपसमा असारे मौलिक भाकामा गित गाएर धान रोप्थे । महिलाहरुलाई रोपार भन्थे भने पुरुष हरुलाई बाउसे गर्ने भन्थे । खेतमा जमेको पानीमा आली जस्तो भएको हुन्थ्यो र पुरुष बाउसेहरुले कोदालीको सहायताले खेतमा भएको ड्याङहरुलाई फुटाएर धान रोप्नको लागि माटो र पानीको अवस्था निकै नै समथर मिलेको बनाउँथे र रोपारहरुले सोही अनुसार धान रोप्दै आउँथे । बाउसे र रोपार बिच धान रोप्दै असारे गीतहरु गुन्जिन्थे । कोही ह।।माले हह।। भन्थे, कोही पहिले पहिलेका किसानको रहर भन्ने गित गाउँथे छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला बनाई कुलो लगाई पानी आएर गौडौंला र महिला रोपारहरुको त कुरै नगरौं अत्यन्तै रमाईलो असारे भाकामा गित गाउँथे । र सो क्रम चलिरहँदा धान रोपाइँ सकिएछि बनाएको खाजा दही चिउरा, अचार तरकारीलगाएत खानेकुराहरु खान्थे । धान रोपेको दिन दही चिउरा खानाले गती परिन्छ भन्ने पनि मान्यताले र चलनचल्ती रहेको थियो र आज सम्म पनि असार १५ को दिन दही चिउरा लगाएत खानेकुरा खाने गर्दछन् ।
र यसरी पहिलेको धान दिवसले आफ्नो छुटै मौलिकता, र परम्पराको जगेर्ना गरेको थियो । अहिले मानिसहरुलाई त्यसैको ठीक उल्टो परिभाषित भएको छ । धान दिवसको दिन हाम्रो मौलिकतालाई मासेर बिकृति तर्फ उन्मुख भएको देखिन्छ ।
तर असार १५ लाई आधुनिक युग भनेर नेपाल सरकारमा रहेका मन्त्रीहरु, संघ,सस्थाहरु व्यक्तिहरु पाटीका नेता कार्यकर्ताहरुलेले फोटो खिचाउने काम, रमाईलो गर्ने, किसानहरुलाई आफ्नो नाटक प्रर्दशन गर्ने हिलो छ्यापा छ्याप गर्ने, चाहना होस् या नहोस् जबरजस्ती हिलोमा पछार्ने, उच्छृङ्खल कामहरु गर्ने, गित गाउँदा बिभिन्न अपशब्दरुपी भाकामा गित गाउने, खानेकुराहरुमा मादक पदार्थ सेवन गर्ने आदी रुपमा मनाइरहेका छन् । नेपाल ३० वर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर थियो । तर पछिल्लो समय नेपालमा कृषि क्षेत्रमा व्यापक हानिकारक विषादी प्रयोग भइरहेको छ्। खेतियोग्य जमिनमा हानिकारक विष दिन प्रतिदिन बढ्दै गइरहेको छ् यसले कति हानीकारक गर्छ र कस्तो असर गर्छ भन्ने कुरा हामीलाई नै थाहा छ्। खेतियोग्य जमिन दिन प्रतिदिन प्लटिङ भइरहेको छ्। नेपालीहरुको सिप र परिश्रम धेरै मात्रमा विदेशी भुमिमा खेर गइरहेको छ्। विश्वका आधाभन्दा बढी जनसङ्ख्याले धानको चामललाई नै प्रमुख खाद्यान्नका रूपमा प्रयोग गर्ने हुँदा धानको चर्चा धेरै हुनु स्वाभाविक हो । त्यसमा पनि एसियाली मुलुकमा करिब ९० प्रतिशतभन्दा पनि अधिक रूपमा धानको खपत हुने हुँदा पनि यसको उपादेयता बढेको देखिन्छ । हामी कृषि क्रान्तिको कुरा गरिरहन्छौँ तर हिजो खाद्यान्न निर्यात कम्पनी बनाएको हाम्रो मुलुक आज आयातित अन्नमा परनिर्भर बनिरहेको यथार्थमा हामी अब यथार्थमा दुख्नुपर्छ ।
आँखाले देखेसम्मको घरजग्गा कौडीको भाउमा बेच्छ अनि शहरको एउटा घडेरीमा खन्याएर करोडौँ पर्ने एउटा महल ठड्याउँछ । उत्पादनयोग्य सुन्दर टारी जमिन, ठुला फाँटमा घर–घडेरी बनाएर, उद्योग–कलकारखाना आदि निर्माण गरेर या त प्लटिङ गरेर बजारीकरण गरिनु नै नेपालका लागि ठुलो अभिशाप हो ।
स्यालको हुँइयाँले हाम्रो समाजले आवश्यकताभन्दा विलासी चाहनाका लागि सम्पत्तिको खोलो बगाउँछ । यो असमान वितरणमुखी खर्च गर्नेभन्दा गाउँ बनाऔँ । अब गाउँकै माटोभित्रको उत्पादनात्मक सम्भाव्यतालाई केलाएर सोही अनुरूप प्रोत्साहनात्मक योजना तय गर्ने कृषि विकासवादी सोचतिर सरकारको ध्यान जाओस् । आत्मनिर्भरताको बाटोलाई नै महत्व दिइयोस् । रोजगारको बाटो गाउँभित्रै परिवारकै साथमा रहेर हुने हो भने परिवार पनि बिग्रन्न अनि आत्महत्याजन्य घटना धेरै हदमा घट्छन् । पारिवारिक खुसी बढ्छ तब समृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाउला । धान दिवस मात्र नभएर हाम्रो धेरै मौलिक तथा संकृतिक रितिरिवाज तथा चाडपर्वहरुको नाममा बिकृति नफैलियोस् । हाम्रो आफ्नै पुरानो चाडपर्व, रितिरिवाज तथा मौलिकताको जगेर्ना गरौं ।