जनकपुर । धनुषामा भएको सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ ।
मिथिला नगरपालिका–४ पुष्पवलपुर निवासी पूर्णबहादुर विश्वकर्माको सोमबार राति सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार जनकपुरधामबाट ढल्केबरतर्फ आउँदै गर्दा सोमबार राति करिब ९ बजे उनले चलाएको मधेश प्रदेश ०२ ००७प ५०२० नम्बरको स्कुटी मिथिला नगरपालिका–२ नक्टाझिजमा दुर्घटनामा परेको थियो । गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि तत्काल जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा विश्वकर्मा सवार स्कुटीलाई ठक्कर दिएको आशङ्कामा बा. १८ च. ८७६८ नम्बरको स्कारपियो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निरीक्षक साहले दुर्घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूसँग सोधपुछ भइरहेको जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान जारी छ । शिक्षक विश्वकर्माको असामयिक मृत्युले स्थानीय समुदायमा गहिरो शोक छाएको छ । उनको मृत्युको शोकमा मिथिला नगरपालिकाभरिका सामुदायिक र संस्थागत विद्यालयमा मङ्गलबार एक दिनको शोक बिदा दिइएको छ ।
नगरपालिकाको शिक्षा शाखाले दिवङ्गत शिक्षकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विद्यालयहरू बन्द रहने जानकारी दिएको छ ।