विराटनगर । अब सवारी नियम उलंघन कसुरहरुको जरिवाना वापतको राजस्व बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ । आगामी साउन १ गतेदेखि प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवाना वापतको राजश्वलाई बैकिङ्ग प्रणालीमा जोड्ने भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठका अनुसार यदि कुनै सवारी कारवाहीमा परे उसले बैंकिङ प्रणालीबाट राजस्व जम्मा गरेपछि मात्रै कागजात र सवारी छुट्नेछ । यो प्रक्रिया पूरा गर्न कम्तिमा २४ घण्टा लाग्ने छ ।
प्रहरी प्रधान कार्यालयले ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस) सफ्टवेयर प्रणालीको विकास गरेर देशभर एकिकृत रुपमा कार्यान्वयनमा ल्याउन लागेको हो । जुन सिस्टमका आधारमा कारवाही सुरु हुन्छ, त्यसपछि सवारी नियम उल्लंघनको विवरण, सवारी चालक अनुमतिपत्र नविकरणको विवरण, कारवाहीमा परेको विवरण देशभरमा हेर्न सकिनेछ ।
जस्तो की मोरङमा सवारी नियम उल्लंघन कसुर गरेको सवारीले जरिवाना नभराई झापा पुगेर त्यहाँ पनि कारवाहीमा परे टिभिआरएस प्रणालीमा त्यो रेकर्ड हेर्न सकिनेछ । त्यसपछि पहिले मोरङ कार्यालयको राजस्व दाखिला गरेर कागजात झिकेपछि मात्रै झापामा परेको कारवाहीको राजस्व दाखिला गरेर सवारी साधन वा कागजात पाइने छ ।
सवारी नियम उल्लंघन कसुरमा पहिलो पटक भएको भए ५००, दोस्रो पटक भए १००० र तेस्रो पटक भए १ हजार ५०० जरिवाना लाग्छ । यस्तो जरिवाना भराउनका लागि अहिले डड्डा पल्टाउनु पर्ने बाध्यता ट्राफिक प्रहरीलाई छ । तर, टिभिआरएस प्रणाली कार्यान्वयनमा आएपछि भने अनलाइन सिस्टममै कति पटक कारवाही भएको भन्ने हेर्न मिल्नेछ । त्यति मात्रै नभई पटकेका हिसाबले राजस्व दाखिला गरेपछि मात्रै बैकिङ सिस्टमले काम गर्नेछ ।
सवारी नियम उल्लंघनको कसुर लागेर ट्राफिक प्रहरीको नियन्त्रणमा परेको अवस्थामा सबैभन्दा पहिला बैंकमा गएर भौचर जम्मा गर्ने एउटा विधि रहेको छ । अर्को अनलाइन बैकिङ प्रणालीको सुविधा पनि लिन सकिनेछ । विभिन्न अनलाइन पेयमेन्ट गेट–वे मार्फत भुक्तानी गर्न सकिनेछ । जस्तै फोन–पे, खल्ती, ई–सेवा जस्ता माध्यमबाट समेत भुक्तानी गर्नसकिनेछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अहिले जिल्लाभर राष्ट्रिय वाणिज्य बैंकको तथ्यांक संकलन गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले अनलाइन भुक्तानीका लागि राष्ट्रिय वाणिज्य बैंकलाई लिएको छ । तर, भौचर भराउनु पर्ने स्थिति आएमा बैंक नै जानु पर्ने स्थिति हुन्छ । यदि अनलाइन पेयमेन्ट गर्नेहरुका लागि भने विभिन्न माध्यम अपनाउन सक्नेछन् ।