विराटनगर । जोगबनी नाकामा अहिले कडाई गर्न थालिएको छ । एक सय रुपैयाँ भन्दा माथीको सामान ल्याएमा अनिवार्य भन्सार काट्नुपर्ने नियमलाई कडाईका साथ अगाडी बढाईदै छ ।
केहीदिन यताको भन्सार नाकाको कडाई भएपछि नेपाली ग्राहक अहिले जोगबनी जानेक्रम घट्दो छ । उता जाने ग्राहकहरुले नेपालमा नै सामान खरिद गर्न थालेका छन् ।
तर नेपाली बजारमा रहेका ठुला तथा साना व्यापारीहरुले सामान खरिदमा बढी मुल्य लिएको भन्दै आम उपभोक्ताबाट जनगुनासो आउन थालेपछि नियामक निकायले एक्सन लिन सुरु गरेको छ ।
यसैबीच उपभोक्ताहरुबाट जन गुनासो आएपछि विराटनगर महानगरपालिकाको नेतृत्वमा विभिन्न नियामक निकायले अनुगमन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङ, खाद्य प्रयोग गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयको सहकार्यमा महानगरले विराटनगरको भाटभटेनी सुपर मार्केट र सेन्टर मलमा शुक्रबार अनुगमन गरेको हो ।
स्थानीय बजार प्रवद्र्धनका लागि साउन १ गतेदेखि विभिन्न सरोकारवाला निकायसित समन्वय गरेर महानगरले भन्सार नाकामा कडाई गरेका छौँ विराटनगर महानगरपालीकाका राजस्व शाखाका प्रमुख दिपक पौडेलले बताए ।
भन्सारमा कडाई हुन साथ विराटनगरको बजारमा व्यापारीहरुले चर्को मुल्य लिन थालेको जनगुनासो आएपछि उपभोक्ता नठगिउन भनेर अनुगमनलाई सुरुवात गरिएको पौडेलले जानकारी दिए ।
स्थानीय उपभोक्ताहरुको गुनासोलाई आत्मासाथ गर्दै खाद्यन्न र कपडाको मूल्यलाई मध्यनजर गरेर अनुगमन गरेको पौडेलले बताए । साथै आगामी दिनलाई पनि निरन्तरता दिने उनले प्रतिवद्धता जनाए ।
भन्सार नाका कडाई गर्नुभन्दा पहिलाको मूल्य र कडाई गरेपछिको मूल्यमा एक रुपता छ, की छैन् भनेर त्यसका लागि बजार अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि प्रमेश्वर भट्टराईले बताए ।
भन्सार नाका कडाइ गरेपछि महानगरका व्यवसायीहरुले उपभोत्ताहरुसंग बढी मूल्य लिएको पाएमा कानुनी बमोजिम कारबाही गर्ने अनुगमन टोलीले जनाएको छ ।