बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्छ। मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक पटक समस्या देखिन सक्छ। आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँ।
मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु कस्तो खानेकुरा कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउंदैनन्। जसका कारण पोषण सम्बन्धित समस्या पाचन प्रणालीमा समस्या हुन सक्दछ।
मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्याउँछ ।
स्क्रिन समय कम गर्न के गर्ने ?
-बालबालिकाको अगाडि फोन आएको बेला बोल्न बाहेक मोबाइल प्रयोग नगर्ने । हामीले जे गर्यौं उनीहरुले त्यही सिक्छन् ।
-खाना खाँदा वा बच्चालाई खुवाउँदा मोबाइल प्रयोग नगर्ने । भिडियो देखाएर खाना खुवाउने बानी एकै पटकमा बन्द गर्न गाह्रो हुन्छ । विस्तारै कम गर्दै जाने ।
-बालबालिकाले स्क्रिनमा हेर्ने कार्यक्रम वा खेलबारे जान्ने र निरीक्षण गर्ने । गलत गतिविधि देखाउने वा हिंसात्मक गतिविधि प्रोत्साहन गर्ने जस्ता कार्यक्रमले बाल मनोविज्ञानमा असर गर्छ यसलाई बन्द गर्ने ।
-बालबालिकालाई सुत्नका लागि स्क्रिनको प्रयोग नगर्ने । यसको साटोमा गीत वा कथा सुनाउनु उपयुक्त हुन्छ ।
-छुट्टीको दिन घरमै बसी मोबाइल टिभी हेर्नुभन्दा बाहिर घुम्न लाने । अरु मानिस, जनावर, चराचुरुंगीसँग एक्सपोजर हुनु राम्रो हो । बालबालिकालाई भौतिक प्रकृतिमा रमाउन, खेल्न मौका दिने ।
-पठनपाठनका लागि ल्यापटप, मोबाइलभन्दा किताब-कापीको बढी प्रयोग गर्ने ।
-बालबालिकालाई खेलकुद, संगीत र कला सिक्न प्रोत्साहन दिने जसमा स्क्रिन समावेश नहुन् ।
-बालबालिका स्कुलबाट आएपछि कुराकानी गरेर केही समय बिताउने । उनीहरुलाई आफ्नो पूर्ण ध्यान दिने ।
-बालबलिकाले सजिलै देख्ने वा लिन सक्ने ठाउँमा मोबाइल, ट्याबलेट नराख्ने ।
-बालबालिकालाई रुटिन जस्तो बनाइ कुनै क्रियाकलापमा व्यस्त राख्न सकेपनि उनीहरुको स्क्रिन समय स्वतः घट्छ । लेगो मिलाउने, बाजा बजाउने, रंग लगाउने, चित्र कोर्ने, माटोको घर बनाउने जस्ता क्रियाकलापमा उनीहरु बढी रमाउँछन् ।
- ५ वर्षभन्दा ठूला बालबालिकालाई अनलाइन गोपनीयता र सुरक्षाबारे सिकाउने । यसले पनि उनीहरुलाई सचेत हुन मद्दत गर्छ ।
यदि तपाईं आफ्नो बालबालिकाको स्क्रिन समयको बारेमा चिन्तित हुनुहुन्छ वा उनीहरूको व्यवहार फरक लाग्छ भने बालरोग विशेषज्ञ वा सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुहोस् ।
हाल कोरोना संक्रमण बढिरहेको हुँदा बालबालिकालाई बाहिर लानु उपयुक्त नहुन सक्छ । तर, घरमै राख्दा पनि स्क्रिन समय बाहेकका यस्ता धेरै वैकल्पिक क्रियाकलाप छन जुन प्राथमिकता साथ प्रयोग गर्नुपर्छ ।