विराटनगर । विराटनगर ७ मा रहेको आदर्श माध्यमिक विद्यालयमा विज्ञानको प्रयोग सम्बन्धि टिंकर तालिम सम्पन्न भएको छ।
बालबालिकामा विज्ञानका नविनतम प्रविधिप्रति जानकार बनाउनका लागि विराटनगरका ५ विद्यालयका विद्यार्थीलाई सम्मिलित गराई साउन ९ गतेदेखि १५ गतेसम्म तालिम दिइएको विद्यालयले जनाएको छ ।
विद्यार्थीलाई भु- उपग्रह निर्माण, जीपिआरएस, इलेक्ट्रोनिक्स सम्बन्धी विषयमा विज्ञानको प्रयोगबारे सिकाइएको विद्यालयले जनाएको छ ।
हाम्रै वरपरमा पाइने घरेलु सामग्रीबाट उपयोगी वैज्ञानिक उपकरण निर्माणका लागि प्रशिक्षणका क्रममा विद्यार्थीलाई प्रेरित गरिएको थियो। आदर्श, युनेस्कोका लागि नेपाल राष्ट्रिय परिषद, कोशी प्रदेश सरकार र राष्ट्रिय अन्वेषण केन्द्रले सो प्रशिक्षणलाई सहयोग गरेको थियो । नाष्टका प्राज्ञ रमेश मास्केले प्रशिक्षणमा विद्यार्थीले इलेक्ट्रोनिक्सका आधारभुत ज्ञान, सर्किट, मुवमेन्ट सेन्सर, भू उपग्रह, स्वचालित उपकरणका बारेमा जानकारी पाएको बताए ।
विज्ञानका शिक्षक रोशन शर्माले प्रशिक्षणमा आदर्श, गोग्राह, राधाकृष्ण र दादर वैरियाको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको बताए।
उक्त प्रशिक्षण समापनमा विराटनगर ७का वडाध्यक्ष मधुबाबु तिवारी, शैक्षिक प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्रिय आयोग युनेस्को तथा युनेस्को पेरिसको आर्थिक सहयोग र राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक सहयोग तथा आदर्श माविको सहकार्यमा अन्तरिक्ष प्रतिष्ठान नेपालको आयोजना टिंकर युनेस्को विज्ञान प्रयाेगशाला स्थापना गर्नका लागि टिंकर तालिम संचालन गरिएको हो।
आदर्श माध्यमिक विद्यालयमा युनेस्को साइन्स क्लबको गठन गरिएको छ ।