विराटनगर । विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सम्पन्न भएको छ ।
"कि मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो" भन्ने जेसीजहरुको मुल मन्त्रलाई आत्मसात गर्दै विराटनगर जेसीजले साउन १५ गतेदेखि २० सम्म विभिन्न कार्यक्रम गर्दै सप्ताह सम्पन्न भएको हो ।
साउन २० शनिबारका दिन "मानवीय सेवा सप्ताह २०२३" को अन्तिम समापन कार्यक्रम " समापन, स्वच्छ, व्यवस्थित संसारीमाईस्थान" विराटनगर जेसीजका अध्यक्ष जेसी अभिनास थापाको अध्यक्षता तथा मोरङ क्षेत्र ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसद योगेन्द्र मण्डलको प्रमुख आतिथ्य साथै विराटनगर महानगरपालिका वडा १० का अध्यक्ष श्री अर्जुन गिरीको विशिष्ट आतिथ्यमा विराटनगरको संसारीमाईस्थान मन्दिर परिसरमा सरसफाई, फलैंचा वितरण साथै चौतारा मर्मत सम्भार गरी कार्यक्रम सम्पन्न गरिएको विराटनगर जेसीजले जनाएको छ ।
संसारिमाईस्थानमा बिगत केही समय देखि जेसीजले सरसफाइ अभियान संचालन गर्दै आएको छ । गमलामा बिरुवा रोपेर त्यसको निरन्तर संरक्षण गरेकोमा भक्तजन बस्नका लागि फलैंचा नभएको र बनाइएको संरचना समेत कमजोर रहेको कारण उक्त स्थानलाई समेत मर्मत सम्भार गरेर सुन्दर बनाइएको र आगामी दिनमा सन्ध्या आरतीका लागि समेत मन्दिर व्यवस्थापन समितीसंग छलफल गरि पहलकदमी लिने विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले जानकारी दिए ।
त्यसैगरी प्रमुख अतिथी प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डलले विराटनगर जेसीजले गरेका अभियानले आफुलाई प्रभावित गरेको र जेसीजको यो अभियानको सदनमा समेत आफुले चर्चा गर्ने र जेसीजका कार्यहरुलाई राष्ट्रिय स्तरमा चिनाउन आफू प्रतिबद्ध रहेको बताए ।
विशिष्ट अतिथी वडा १० का वडा अध्यक्ष अर्जुन गिरिले आफ्नो वडामा रहेका सम्पदाको संरक्षणमा जेसीजले गरेको कार्यलाई आफुले नजिक बाट नियालेको बताउदै आगामी दिनमा समेत सहकार्य गर्दै अघि बढ्ने बताए ।
विराटनगरको बिराटेश्वर वृद्धाश्रममा आश्रित आमा बुवाहरुलाई खिर खुवाएर तथा लत्ता कपडा वितरण गरेर साउन १५गते देखि सप्ताह सुरु भएको थियो ।
दोश्रो कार्यक्रम शैक्षिक कोशेली वितरण कार्यक्रम विराटनगर वडा नम्बर ३ मा रहेको निम्न वर्गका बालबालिका अध्ययन गर्ने मदन आधारभुत विद्यालयमा, डेंगु बुझौं , बचौं र बचाऔं कार्यक्रम गरेको थियो । साउन १६ मंगलबार ऋषिदेव बस्ती मिल्स एरियामा , सुरक्षित महिनावारी, सुरक्षित उनी कार्यक्रम गरेको थियो । साउन १७ मा जेसी बाल सदनमा , एक रक्तदान बचाउँछ ३ बढीको ज्यान र साउन १८ गते मोडर्न एरा स्कुल, आयल निगममा सम्पन्न भएको थियो भने स्वास्थ्य जनता, स्वास्थ्य नगर साउन १९ शुक्रबार ऋषिदेव बस्ती घिनाघाटमा सम्पन्न गर्ने कार्ययोजना भए पनि निरन्तर बर्षाका कारण स्थगित गर्नु परे पनि उपयुक्त समयमा संचालन गरिने जानकारी दिंदै र समापन, स्वच्छ व्यवस्थित संसारीमाईस्थान कार्यक्रम साउन २० गते शनिबार संसारीमाइस्थानमा सम्पन्न भएको र करिब ५ लाख बराबरको कार्य सम्पन्न भएको विराटनगर जेसीजका महासचिव अमित अग्रवालले जानकारी दिए।
कार्यक्रममा विराटनगर जेसीज बोर्ड पदाधिकारी , पूर्व अध्यक्ष जुनियर जेसीज लगायत समाजका विभिन्न ब्यक्तित्वको उपस्थिति रहेको थियो भने सम्पुर्ण कार्यक्रम संयोजकलाई प्रशंसा पत्र प्रदान गरिएकोमा उत्कृष्ट कार्यक्रम संयोजकका रुपमा आशिष देव पुरस्कृत भएका थिए ।