विराटनगर । विराटनगरमा ५५ औं संस्करणको रथ यात्राको व्यवस्थापनमा महानगरपालिकाका मेयर नागेश कोइरालाले चासो देखाएका छन् । अबको एक महिनापछि रथयात्रा निकाल्ने विषयमा छलफल सुरु गरेको छ । राधाकृष्ण रथयात्रा व्यवस्थापन समितिका सदस्य बाबुराजा ओझाका अनुसार बुधबारसम्ममा रथयात्रा व्यवस्थापन समितिको टुङ्गो लाग्नेछ ।
अहिले महानगरपालिकाका मेयर नै रथयात्रा समिति संयोजक हुनुहुनेछ, ओझाले भने–मेयरले नै संयोजक बन्नु हुनेछ, यस पटक अलिक भव्य बनाउने योजना रहेको छ । ओझाका अनुसार यसवर्ष विराटनगरमा सबै महानगरपालिकाका प्रमुखहरुलाई रथयत्रा अवलोकनका लागि ल्याउने तयारी समेत गरिएको छ । राधाकृष्ण रथ यात्रालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने गरी देश तथा विदेशका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गर्ने तयारी रहेको छ ।
धार्मिक एवं साँस्कृतिक महत्व झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने ऐतिहासिक परम्परा रहेको छ ।
विराटनगर-१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ साल देखि युगल जोडी भगवान श्रीराधाकृष्ण आरूह ‘खट यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा वि.सं.२०२५ सालबाट भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको थियो ।
कोरोनाका कारण रथयात्राको ५२ र ५३ औं संस्करण समेत विधी धान्न मात्रै निकालिइएको थियो । भने ५४ औं संस्करणका लागि रथयात्रा पहिलेको भन्दा कम मात्रामा झाकी उपस्थित गराएर रथ यात्रा निकालिएको थियो। विराटनगरको यो रथयात्रामा भारतसहित नेपालका विभिन्न क्षेत्रबाट हजारौं भक्तजनहरु सहभागी हुने गरेका छन् ।