विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाँउपालिकाको १, २, ३ र ४ नम्बर वडा समेट्ने जुडीखोलादेखि सिंघियासम्मको चार किलोमिटर सडक निर्माण सुस्त भएको भन्दै जिल्ल प्रशासन कार्यालय मोरङमा स्थानीयले चरणवद्ध धर्ना सुरु गरेका छन् । आइतबार कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, पूर्व अध्यक्ष रामकुमार कामत, नागरिक संघर्ष समितिका संयोजक मृत्युञ्जय झासहित स्थानीयको उपस्थितमा धर्ना बसिएको हो ।
लामो समय देखि निर्माणधिन रहेको हुलाकी राजमार्गको काम तत्काल सुरु गरेर तोकिएको समयमा सम्पन्न गर्न दवाव दिदै स्थानिय सरोकारवालाहरुले अनिश्चितकालिन धर्ना दिने भएका हुन् । नागरिक संघर्ष समितिका संयोजक झाले संघीय सरकार अन्तर्गतको योजना कार्यन्वयनमा प्रमुख जिल्ला अधिकारीले पहल लिनुपर्ने भएकोले धर्ना दिएर दवाव बढाएको जानकारी दिए ।
्रयो क्षेत्र श्रेष्ठ कन्ट्रक्सनले ठेक्का लिएको हो । सरोकारवाला निकायहरूलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि काम सुचारु नभएपछि स्थानीय आक्रोशित भएका छन् । हुलाकी सडक निर्माणमा ढिलाई भएका कारण स्थानिय जनताहरुले दुःख भोग्दै आएका कारण स्थानीय राजनीतिक दल र नागरिक समाजको अगुवाईमा गठन गरी चरणबद्ध आन्दोलन गर्ने उनको भनाई छ ।
रोकिएको हुलाकी राजमार्ग निर्माण कार्य तत्काल सुचारु गर्नुपर्ने कटहरी क्षेत्रमा पानीको निकास हुनेगरी कल्भर्ट र नाला निर्माण गर्नुपर्ने कटहरी गाँउपालीकाका पूर्व अध्यक्ष रामकुमार कामतले माग गरे । समयमै सडक निर्माण नगरेका कारण धेरै सवारी दुर्घटना भई कतिले ज्यान गुमाएका छन् भने सयौँ घाईते भएको अध्यक्ष कामतले बताए । हामी निरन्तर रुपमा धर्नामा छौँ यदि हाम्रो मागको सुनवाई भएन भने सशक्त आन्दोलनमा जाने पूर्व अध्यक्ष कामतले बताए । अबको हाम्रो आन्दोलन सडक अवरुद्ध गर्ने सम्म हुने कामतले चेतावनी दिए ।
धर्नाको लागी नेपाली कांग्रेस कटहरी , नेकपा एमाले कटहरी, माओवादी केन्द्र कटहरी, जनता समाजवादी पार्टी कटहरी, उद्योग वाणिज्य संघ कटहरी लगायतका संस्थाहरूले पनि ऐक्यबद्धता जनाएका छन् । उनीहरुले मोरङबाट निर्वाचित स्थानीय तह, प्रदेश सभा र संघीय संसदका जनप्रतिनिधिहरूलाई बोधार्थ गरी ध्यानकर्षण पत्र समेत बुझाएका हुन् ।