सुजता लिम्बु
विराटनगर । २०७८ सालको कुरा हो । पहिलो पटक भेट्दा उनको हातमा नेपालको राष्ट्रिय झण्डा थियो । टाउकोमा रातो फेटा बाँधेकी उनी अक्सर वडा प्रहरी कार्यालय विराटनगर परिसरमा नै भेटिन्थिन् । साशन र राष्ट्रियताका विषयमा ब्रेक नलगाइ ‘ननस्टप’ कुरा गरिरहने उनले आफूलाई सुशासनको अभियन्ताको रुपमा परिचित गराउन भ्याएकी थिइन् । हातको झण्डा देशप्रतिको प्रेम, सम्मान र टाउकोमा बाँधिएको रातो फेटा विद्रोहको प्रतिक रहेको उनले सुनाएकी थिइन् । उनी विराटनगर ५ निवासी इन्दिरा चपागाईँ, अहिले आफ्नै सरकारबाट प्रहरी नियन्त्रणमा छिन् । उनले स्थानीय सरकार विराटनगर महानगरपालिकाको गेटमा बसेर सुशासनका कुरा उठाए वापत प्रहरी नियन्त्रणमा परेकी हुन् । सुशासनको मुद्दा अनुसन्धानका लागि दोस्रो पटक आठ दिनको म्याद थपेर अनुसन्धानको दायरामा आएकी हुन् । यस अगाडी सात दिनदेखि उनी मोरङ प्रहरीको न्यायिक हिरातमा रहेकी छिन् ।
साहित्यमार्फत आफ्ना भावनाहरु छरपस्ट पार्ने खुबी पनि उनी भित्र छ । विराटनगरको तातो होस या ज्यान काप्ने चिसोमा उनी पैदल यात्रामा नै रमाउने गर्छिन् । बाटोमा जम्का भेट भइहाले उनी हाँस्दै भन्ने गर्थिन,‘म हिँड्ने सडक कालोपत्रे नहुँदो हो त मेरा चप्पलका डोबहरु कतै न कतै थुप्रै भेटिन्थे ।’ त्यही कालोपत्रे बाटोमा भ्रष्टाचार विरुद्ध र सुशानको अभियान लिएर अनवरत हिँडेकी इन्दिराले कति जोर चप्पल फटाइन्, त्यसको गणना गर्न भ्याएकी छैनन् ।
तर, अभियानको यात्रा एक्लै थाल्दै आएकी उनीसँग जीवनमा भोगाईका सुख–दुःख का गन्ति नहोलान् । करिब डेढ महिनादेखि गोग्राहसहित सामुदायिक विद्यालयमा शैक्षिक सुधारको माग राख्दै विराटनगर महानगरपालिकाको प्रवेशद्धारमा उनी उभिदै आएकी थिइन् । स्थानीय सरकार मातहत रहेका शिक्षालय सुधार गर्नुपर्ने मागमा उनले जनप्रतिनिधिलाई जवाफदेहि बन्न माग गरेकी थिइन् । विद्यालयमा शैक्षिक सुधारको माग राख्दै विराटनगर महानगरपालिकामा ब्यानर बोकेर उभिएकी उनको मागलाई स्थानीय सरकारले पूरा गर्नसक्ने थिए । तर, माग राखेर सुशासनको मुद्दा उठाए वापत उनी प्रहरी नियन्त्रणमा परेकी हिन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सह–प्रवक्ता प्रहरी निरीक्षक पप्पु नायकले दिएको जानकारी अनुसार थुनामै राखेर अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान गर्न थप ७ दिन म्याद थप भएको हो । यस अगाडी ७ दिनको म्याद आइतबार सकिएको थियो । उनले प्रहरीसँगको बयानमा आफ्ना विचारहरु शान्तपूर्वक लेखाईरहेकी छिन् । प्रहरी निरीक्षक नायकका अनुसार उनी बाहिर जस्ती देखिएकी भनिएपनि प्रहरीसँग बयान लेखाउने क्रममा उनी शान्त र एक जिम्मेवारी नागरिकको रुपमा प्रस्तुत हुँदै आएकी छिन् ।
साउन १५ गते महानगरपालिका कार्यालयले चापागाईंविरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमामा उजुरी दिएको थियो । यदि प्रहरी नियन्त्रणमा रहेकी चापागाँईका कुरा मिहिन रुपमा सुन्न साहस महानगरपालिकाले गरेको भए अहिले उनका समस्या स्थानीय सरकारसम्म शान्तपूर्वक राख्ने अवसर पाउने थिइन् । तर, आफ्ना नागरिकको कुरा सुन्न गठन भएको जनताको सरकारका प्रतिनिधिले नागरिकका कुरा सुन्न छोडेर छडी लगाउने निती लिएको छ । महानगरका मेयर नागेश कोइरालालाई लाई गाली गलौज गरेको आरोप चापागाँईलाई छ । सरकारका प्रतिनिधिले नागरिकको आवाजलाई गाली सम्झदाँको परिणाम एक सामान्य, हद भन्दा सामान्य महिला प्रहरी थुनामा रहनु परेको हो ।
गोग्राहा उच्च माविमा निजी स्रोतबाट सञ्चालित शिक्षा संकायको कलेजलाई महानगरले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको भन्दै उनले विरोध गर्ने गरेकी हुन् । बजेट फिर्ता गरेर सामुदायिक विद्यालयबाट कलेज हटाउन उनले प्रमुख रूपमा माग गरेकी थिइन् । चापागाईं ग्रोगाहा माध्यमिक विद्यालयकी पूर्वसञ्चालक समिति अध्यक्ष समेत हुन् । उनले आफ्ना माग लिएर आउँदा अशोभनीय शब्द प्रयोग गरी जथाभावी गालीगलौज गर्नुका साथै मेयर नागेश कोइलालाई मुख्य गेटबाट प्रवेश गर्न अवरोध पु¥याएको महानगरको आरोप छ ।
इन्दिरा चापागाइ प्रहरी नियन्त्रणमा भएसँगै विवादमा तानिएका नगरप्रमुख कोइरालाको सचिवालयले भने उनले दैनिक रुपमा कार्यालय प्रवेश गर्ने क्रममा अभद्र व्यवहार देखाउँदै आएको दावी गरेको छ । सामान्य विषयले विवादमा तानिएका मेयर विरुद्ध नगर प्रहरीको दुरुपयोग गरेर नागरिकलाई दुव्र्यवहार गरेको आरोप छ । तर, कोइरालाले यसलाई अस्वीकार गर्दै नगर प्रहरीले दुव्र्यवहार गरेको भए पदबाट राजीनामा दिने दावी गर्दै आएका छन् ।