नेतृत्वविहीन कोशी प्रदेशसभा

<span class='c1'>नेतृत्वविहीन कोशी</span> <span class='c2'>प्रदेशसभा</span>

सुजता लिम्बू
विराटनगर । जनतालाई दिइएको अपेक्षा र प्रतिवद्धताका साथ निर्वाचन जितेर आएका जनप्रतिनिधि सत्ता स्वार्थमा डुब्दा यतिबेला कोशी प्रदेशसभा नेतृत्वविहीन बनेको छ । जनतका समस्यालाई सम्बोधन गर्ने मुख्य थलो नै नेतृत्वविहीन अर्थात सभामुखविहीन हुँदा जनताका समस्या कहाँ र कसरी राख्ने भन्ने प्रश्न पनि उत्तिकै उठ्न थालेको छ ।

यतिबेला कोशी प्रदेश डेँगी संक्रमणले आक्रान्त पारेको छ । यस प्रदेशमा आठ हजार एक सय नौ जना डेंगी संक्रमित भइसकेका छन् । भने ७ जनाको मृत्यु समेत भइसकेको छ । केही स्थानीय तहबाट यसको न्युनिकरणको विषयमा कदम चालिरहँदा प्रदेश सरकार भने भूमिका विहिन जस्तै बनेको छ ।

पछिल्लो समय देशको राजनीतिक घटनाक्रमले आजित बनेका आम नागरिक प्रदेश संरचना र संघीयता प्रति नै नकारात्मक बन्न थालेका छन् । सत्ता आरोहणको होडबाजीमा सभामुखविहीन बनेको कोशी प्रदेशसभाले नयाँ सभामुख कहिले पाउने भन्ने अझै टुंगो लाग्न सकेको छैन । पूर्व सांसद सूयर्माराज राईले प्रदेशसभा सभामुखविहीन बन्नु विधि र कानुनको बर्खिलाप रहेको बताउँछन् ।

राजनीतिमा सत्ता नै सबथोक मान्ने कु–संस्कार हावी हुँदा दलहरु गलत बाटो हिंडको र संविधान, विधि र प्रणालीमाथि निर्लज्ज प्रहार गर्ने गैरराजनीतिक कदमहरु चालिने उनको तर्क छ । उनी भन्छन्,‘यतिबेला प्रदेशमा त्यसैको कुरुप नाटक मंचन भईरहेको छ ।’
मूलधारका पार्टीहरु खासमा संघीयताप्रति अनुदार रहेको बताउँदै उनले संसदीय गणित र सत्ता संघर्ष देखिन्छ तर सारमा अर्कै रहेको बताउछन् ।

‘खासमा उनीहरू यो संघीयतालाई खारेज गर्न चाहन्छ्न।त्यसको लागि प्रदेशलाई बदनाम,अलोकप्रीय ,बेकामे बनाउन चाहन्छन, उनी भन्छन्,‘यो प्रारम्भिक रिहर्सल हो। संघीयता खारेजी अन्तिम लक्ष्य हो।यो एउटा बहाना मात्रै हो।’

संविधानमा यस्तो छ व्यवस्था
संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुखको चयन प्रक्रियाबारे उल्लेख गरिएको छ । सोही धाराको उपधारा (१) मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ ।
यस्तै उपधारा (३) मा प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद रिक्त भएमा प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद पूर्ति गर्ने उल्लेख छ । तर, कति समयमा भन्ने उल्लेख छैन ।

अहिले नै सभामुख टुंगो लगाउने निर्णय भएको छैन
अंकगणितिय हिसाबले कोशी प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वका सरकारलाई बहुमत पु¥याउन सभामुख पदबाट बाबुराम गौतमले राजिनामा दिए । सभामुखबाट राजिनामा दिएपछि गौतम अहिले थापा नेतृत्वकै सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यता, नयाँ सभामुख चयनको प्रक्रिया कहिले सुरु हन्छ ? भन्ने प्रश्नमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु नै सभामुख हुन कुनै पनि दल तयार नभएको बताउछन् ।

गठबन्धन दलले राप्रपालाई सभामुख दिएर अगाडी बढ्ने भन्ने छलफलको विषय भएपनि राप्रपा यस विषयमा सकारात्म नरहेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउछन् । सभामुखको विषयमा तत्काल अगाडी बढाउने भन्ने कुरा नभएको बताउदै उनले राप्रपा सभामुखको सहमतिमा नरहेको बताए । उनले भने,‘ समग्रमा भन्नुपर्दा यो विषयमा राप्रपासँग छलफल भएको छैन ।’ यता, नेपाली काँग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले शुक्रबार (भोली) गठबन्धन दलको बैठक बसेर टुंगो लगाउने बताए । उनले भने,‘आजसम्म केही त्यस्तो छैन, भोली गठबन्धन दलको बैठक बसेपछि सभामुखको विषयमा टुंगो लाग्ला ।’ त्यसो त गठबन्धन दलकै सांसदहरु सभामुख विहिन संसद हुनु नहुने बताउछन् । यद्यपि उपसभामुखले सभामुखको भूमिका निर्वाह गर्ने भएकाले पनि अहिले सभामुख चयन नभएको हुनसक्ने पूर्व कानुनमन्त्री समेत रहेको नेपाली काँग्रेसका सांसद केदार कार्की बताउछन् ।

कोशी प्रदेशसभामा एमालेको (उपसभामुखसहित) ४०, कांग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् । गठबन्धन दलको प्रदेशसभामा बहुमत (४७) सांसद छन् । यसमा पनि एक जना सांसद घटे मुख्यमन्त्री थापा नेतृत्वको सरकार अल्पमतमा पर्छ ।

प्रदेशसभा रिक्तता छैन : एमाले
नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभा रिक्त नरहेको बताउछन् । सरकराले विजनेस दिन तयार रहे उपसभामुखले सभामुखको हैसियतले बैठकको समय निर्धारण गरिदिने बताउदै उनले सरकारले दिएको विजनेसमा आफूहरु पनि छलफल गर्न तयार रहेको बताए ।
‘प्रदेशसभा भूमिकाविहिन छैन सरकराले विजनेश दिन तयार हुनुहुन्छ भने उपसभामुख अहिलेको सभामुखको हैसियतमा काम गर्ने नै हो उहाँले सभाको बैठक मिति, समय निर्धारण गरिदिने हो, ’ उनले भने,‘उपसभामुखले सभाआयोजना गर्दिन भन्नुभएको छैन, गर्दिनुहुन्छ, सभाखुको रिक्तता हुँदैन ।’

नयाँ गठन भएको सरकारले उपसभामुखसँग समन्वय गर्नुपर्नेमा जोड दिँदै उनलेभने,‘सरकारको तर्फबाट विजन प्रस्तुत गर्नु तयार हुनुपर्छ, विजनेसलाई टेबल गर्नु तयार छौँ भन्नुपर्यो उपसभामखुले सभामुखको हैसियतले बैठक बलाइदिनुहुन्छ ।’ सरकारले विजनेस दिएर बैठक आव्हान भए प्रतिपक्ष छलफलमा तयार रहेको समत उनले बताए ।
‘प्रदेशसभा रिक्तता होइन, विजनेस दिने सन्दर्भमा सरकार जिम्मेवारी हो,जुन आजको मितिसम्म सरकारले गरेको छैन’ उनले भने,‘ त्यसैले रिक्तता जस्तो देखिएको हो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्