गर्भको बच्चा व्यवस्थापन गरेपछि प्रेमिका छोड्न चाहन्थे गोबिन्द

<span class='c1'>गर्भको बच्चा व्यवस्थापन गरेपछि</span> <span class='c2'>प्रेमिका छोड्न चाहन्थे गोबिन्द</span>

विराटनगर । झण्डै दुईवर्षदेखि भोजपुर हतुवागढी–४ का गोबिन्द राई स्थानीय एक युवतीसँग प्रेममा परेको बहाना गरिरहेका थिए । खासमा उनी युवतीसँग ‘शारिरीक सम्बन्ध’ बनाई राख्न चाहने तर विवाह चाँहि गर्न नपरे हुन्थ्यो भन्ने सम्झन्थे । जिल्ला प्रहरी कार्यालय मोरङमा व्यक्ति वेपत्ता पार्ने कसुर गरेको आरोपमा पक्राउ परेका उनै गोबिन्दले प्रेमिकासँग राखेको पछिल्लो शारिरीक सम्बन्धबाट गर्भ रहन पुग्यो ।

त्यो गर्भमा भएको बच्चाले गोबिन्द असजिलोमा परेका थिए । उनले प्रेमिका भनिएकी युवतीलाई आठ महिनासम्म सन्तानलाई जन्म दिएर विवाह गर्ने बाचा कसिरहे । तर, गर्भमा शिशु हुर्कदैं जाँदा त्यसको व्यवस्थापन गरेर युवतीसँगको प्रेम तोड्ने मनस्थिति थिए । प्रहरीका अनुसार गोबिन्द राम्रा र खाईलाग्दा छन् । युवती अलिक कमजोर जस्ती देखिएकी छिन् ।

गुगल सर्च गरेर विराटनगर आए
गत असार १४ गते उनी विराटनगर आफ्नी प्रमिकासहित आएका थिए । यहाँ आउनु अगाडी गोबिन्दले गुगल सर्च गरे । डाक्टर तपेश्वलाल कर्णको फोन नम्बरसहितको सम्पर्क फेला पारे । उनले त्यहिंबाट आफ्नो समस्या बारे जानकारी गराए । तर, डाक्टर बोलेनन्, विराटनगर आउन भने । यसरी विराटनगर आएका गोबिन्द दिपेश मेडिकल हलमा आफ्नो प्रेमिका लिएर पुगेका थिए । त्यहाँ पुगेपछि डाक्टर कर्णसँग प्रसुती गराउने विषयमा ड्रिलभयो । जन्मपछि सन्तानको व्यवस्थापन गर्ने विषयमा समेत कुरा मिलेपछि ग्रिनक्रस अस्पतालमा भर्ना गरियो । ग्रिनक्रस अस्पतालमा प्रसुती गराउन दिपेश मेडिकलकी कर्मचारी निर्मला यादव समेत डाक्टर कर्णसँगै आएकी थिइन् । ग्रिनक्रसमा सफाई कर्मचारी थिइन् सुधा राजबंशी । सुधालाई कटहरी–२ का सुर्यनारायण राजबंशीले विवाह गरेको दशवर्ष बित्दासम्म उनकी श्रीमतीबाट सन्तान नभएको जानकारी थियो । विराटनगरको बंशल हार्डवेयरमा काम गर्ने सुर्यनारायणलाई उनै सुधाले बच्चा ‘एडप्ट’ गर्ने विषयमा कुरा पु¥याएकी थिइन् । दिपेश मेडिकलमा गोबिन्दले युवतीको उपचारका लागि ४५ हजार रुपैया बुझाएका थिए । जसमध्ये दिपेशमा स्वास्थ्य परीक्षण गरेको दश हजार र ग्रिनक्रसमा अप्रेशन गर्दा लाग्ने ३५ हजार रुपैँया थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन दाहालका अनुसार आठ महिना पुगिसकेकोले ‘एभर्सन’ हुन सक्दैनथ्यो । त्यहि भएर गोबिन्द सन्तानलाई सुकशल जन्माएर व्यवस्थापन गर्न चाहन्थे । उनले डाक्टरसँग गरेको सल्लाह अनुसार बच्चा बुझ्ने व्यक्ति तयार पारेर जन्म दिइएको थियो ।

नर्मल डेलिभरीबाट २ केजीको छोरीलाई जन्म दिएपछि कटहरी–२ का सुर्यनारायण राजबंशी र उनकी आमा दिलमायाले बाइकमा आएर बच्चा रिसिभ गरेका थिए । बच्चाको जन्म दिएकी युवतीलाई गोबिन्दले इटहरी लिएर गएका थिए ।

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार गोबिन्दले बच्चा अस्पतालमै राखेको बताएका थिए । उनलाई बच्चा केहिदिनसम्म अस्पतालमा राख्ने बताएका गोबिन्द युवतीलाई होटलमा छोडेर फरार भएपछि युवतीलाई शंका लागेको थियो । उनी त्यसपछि गोबिन्द सम्पर्कमा आउलान् भन्ने सोचका साथ रामधुनी आफन्तकोमा शरण लिन पुगिन् । तर, गोबिन्दले बच्चा व्यवस्थापन गरिसकेपछि छोड्ने मनस्थिति बनाएको बुझेपछि युवती मोरङ प्रहरीको सम्पर्कमा आएकी थिइन् । प्रहरीलाई जानकारी दिएपछि भित्री अनुसन्धानमार्फत शिशु वेपत्ता पारेको खुलेको थियो । त्यसपछिक कन्फर्म गरेर जाहेरी लिइएको थियो ।

पाँचदिनसम्म एनआईसीयुमा राखियो शिशु
शिशु व्यवस्थापन योजना बुनेका गोबिन्द, निःसन्तान दम्पतीलाई पैसा लिएर शिशु दिने डाक्टर कर्ण, दिपेश मेडिकल कर्मचारी निर्मला यादव र ग्रिनक्रस अस्पताल सफाई कर्मचारी सुधा राजबंशीले जिम्मा लगाएको शिशुलाई सुर्यनारायणले विराट अस्पतालको एनआईसियुमा भर्ना गरेर स्याहार गरेका थिए । सुर्यनारायण, उनकी श्रीमती र आमा दिलमायाले अस्पतालमा भर्ना गरेका शिशुको स्याहार राम्रोसँग गरेको देखिएको प्रहरीले बताएको छ । जब बच्चाले दुध सेवन गर्नसक्ने अवस्थाको चाल देखाउने र पूर्ण स्वथ्य छ भन्ने चिकित्सकको भनाई अनुसार मात्रै उनीहरुले घरमा लगेको खुलेको छ । ग्रिनक्रसमा बच्चा लिन आएका सुर्यनारायण उनकी आमा दिलमाया पनि अहिले प्रहरी नियन्त्रणमा छन् ।

के गर्ने शिशु ?
आफूले जन्म दिएको सन्तान रकम लेनदेनमा वेपत्ता बनाएर आफैंलाई धोका दिएपछि गोबिन्दसँग बिक्षिप्त भएकी युवती जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आएकी छिन् । शिशु भने जसले स्याहारका लागि लगेको थियो, उनैसँग प्रहरीको बालमैत्री कक्षमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयले एक महिना २२ दिनजति स्याहारमा ध्यान दिएकी दिलमायासँगै शिशुलाई छोडेको छ । अब उक्त सन्तान जन्म दिने आमाले आफैं लाने अवस्थामा प्रहरीले सनाखत गराएर जिम्मा दिने भएको छ । तर, आमालाई शिशु दिदाँ स्याहार हुने नहुने विषयमा समेत प्रहरीले आफन्तसँग बोलाएर परामर्श लिनेछ । यदि आमा र आफन्तले बच्चा लिन नमानेमा अर्को प्रक्रियामा जानुपर्ने अवस्था आउने छ । प्रहरी नायव उपरीक्षक दाहालले पहिलो आमाले आफ्नो सन्तान बुझ्न पाउने अधिकार सुरक्षित रहेको बताएका छन् ।

डाक्टर कर्णको पृष्ठभूमि अनुसन्धान
विराटनगरमा स्त्री तथा प्रसुती विशेषज्ञ भनेर कहलिएका डा.तपेश्वर लाल कर्ण (टिएलपी)ले रकम लेनदेन गरेर शिशु व्यवस्थापन गरेको पाइएपछि प्रहरीले उनको पृष्ठभूमि समेत अनुसन्धान गर्ने भएको छ । पछिल्लो घटनामा संलग्न उनले कति रकम लिएर शिशु दिएका हुन भन्ने कुरा यकिन भएको छैन । प्रारम्भिक सोधपुछमा कहिले पाँचलाख र कहिले ५० हजारको मात्रै कुरा आएको छ । यद्यपी बच्चा लिएको परिवारले भने तीनलाख रुपैँया डाक्टरलाई दिएको बताएका छन् ।

यस अगाडी विराटनगरको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट समेत भईसकेका कर्णले यस्तै प्रकारको कुनै घटनामा संलग्न रहेको नरहेको विषय समेत यकिन गर्ने तयारी प्रहरीले गरेको छ । विराटनगरको कोसी अस्पतालबाटै शिशु हराएको रेकर्डका उजुरी समेत प्रहरीमा रहेका छन् । त्यस बाहेक विभिन्न अस्पतालमा समेत यस्ता घटना भएका हुनसक्ने विषयलाई प्रहरीले पुराना उजुरी फायल पल्टाउने भएको हो । कर्णमाथि यस अगाडीका कतिपय घटनामा समेत संलग्न भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
प्रहरी नायव उपरीक्षक दाहालले पक्राउ परेकाहरु विरुद्ध व्यक्ति वेपत्ता कसुरमा म्याद थप गरेर अनुसन्धान भईरहेको भएपनि थप कानुनका बुँदा आकर्षण हुने अवस्था समेत रहेको विषयमा अध्ययन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्