विराटनगर । विराटनगरमा आगामी बिहीबार हुने राधाकृष्ण रथयात्रा व्यवस्थापनको कामसँगै शान्ति सुरक्षाका लागि एकसय प्रहरीलाई सुचना संकलनमा परिचालन गरिएको छ ।
नेपाल प्रहरीले रथयात्रा सुरक्षाको योजनाका लागि सादा पोशाकमा एकसय प्रहरी परिचालन गरेको हो । जसले रथयात्राका दिन हुनसक्ने सबै किसिमका गतिविधिको निगरानी गर्ने, संभावित गलत क्रियाकलापको पूर्व जानकारी लिने र घटना हुनसक्ने संभावना आंकलन गर्ने काम थालेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार अघिल्ला वर्षभन्दा यो वर्षको रथयात्रामा भक्तजनको उपस्थिति बाक्लो हुने अनुमान गरिएको छ ।
त्यसलाई मध्यनजर गरेर प्रहरीले रथयात्राको रुट भित्रका सबै सिसी क्यामरा अलर्ट राख्ने काम समेत गरिरहेको छ । त्यस बाहेक रथयात्रामा हुनसक्ने चोरी लगायतका गतिविधि, अनावश्यक धार्मिक उश्रृंखलताका गतिविधिलाई समेत प्रहरीले निगरानी गर्ने भएको छ । प्रहरीले अघिल्ला रथयात्राहरुमा साढे तीनलाखसम्म भक्तजन सहभागि भएको तथ्यांक राखेको छ । यस पटक त्यो संख्यामा धेरै बृद्धि हुनसक्ने अनुमान प्रहरीको छ ।
दुई देशका स्थानीय सरकार प्रमुखलाई निम्ता
रथयात्रामा यो वर्ष नेपाल–भारत स्थानीय सकारको जमघट हुने अवसर जुरेको छ । विराटनगरमा दुई देशका स्थानीय सरकार सहभागि गराएर हुने एक कार्यक्रमको संयोग समेत रहेका कारण उनीहरु सबैले रथयात्रामा सरिक हुने अवसर लिने भएका छन् । त्यसका लागि भारतका केहि स्थानीय तहका प्रमुखलाई विराटनगर महानगरपालिकाले पत्राचार गरेको छ । जसमध्ये रथयात्रामा सरिक हुने भनेर तीन स्थानीय तहले जानकारी दिईसकेको महानगरपालिकाका प्रशासन शाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिएका छन् । उनका अनुसार नगर पञ्चायत जोगबनी, नगर निगम कटिहार, फारबेसगञ्ज बिहारका प्रतिनिधि सहभागि हुने भनेर जानकारी आएको छ ।
नेपाल र भारतका स्थानीय तह प्रमुखलाई पाहुनाका लागि निम्त्याइएपछि सुरक्षाको दृष्टिकोण केहि फराकिलो पारिएको हो । तर, रथयात्रा मुल समारोह समितिका संयोजक एवं राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले भने यहिं कार्यक्रम रहेको अवसरमा रथयात्रामा सरिक गराउने योजना राखिएको जानकारी दिए । उनले नेपाल र भारतका स्थानीय सरकारका प्रमुखहरुलाई विराटनगर महानगरपालिकाले निम्ता पठाएको बताए । रथयात्राका लागि स्थानीय बाहेक बाहिरबाट कोहिपनि धार्मिक गुरुहरु सहभागि नहुने रेग्मीको दावी छ ।
सुरक्षा चुनौती
कोरोना संक्रमणपछिका वर्षमा विराटनगरको राधाकृष्ण रथयात्रा सिम्बोलिक मात्रै हुँदै आएको थियो । लामो समयपछि सबै किसिमले वातावरण सहज भएका कारण यसवर्षको उत्साह फरक हुने अनुमान सुरक्षा संयन्त्रले गरेको छ । जसका लागि सुरक्षा संयन्त्र परिचालन योजना समेत तयार पारिएको छ । प्रहरी नायव उपरीक्षक दाहालका अनुसार पाँचलाख प्लस भक्तजन हुने अनुमानसहित एक हजार भन्दा बढी संख्यामा प्रहरी परिचालन गरिने भएको छ । जसमा २५० जना महिला प्रहरी रहनेछन् । एकसयजना सादा पोशाकका प्रहरीलाई परिचालन गरिने भएको छ । त्यस बाहेक रिजर्ब फोर्स समेत स्टेण्डबाई राखिनेछ । प्रहरीले धार्मिक यात्रालाई अतिधार्मिक मान्यता दिने कुनैपनि मनसाय प्रेरित देखिएमा त्यस्ता व्यक्तिलाई समेत निगरानी गर्ने संयन्त्र तयार पारेको छ ।
त्यस बाहेक स्थानीय सरकार प्रमुखप्रति नागरिकको चासो र आक्रोश दुई प्रकारका प्रतिक्रियासँग प्रहरी सजग रहने भएको छ । नेपालमा केहि स्थानीय तहमा स्वतन्त्र निर्वाचित भएका प्रमुखहरुप्रति नागरिकाको क्रेज र आक्रोश दुवै रहेकोले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रहरी सजग रहेको हो ।
सहयोग गर्न अपिल
प्रहरीले धार्मिक महत्व बोकेको विराटनगरको राधाकृष्ण रथयात्रामा धर्मानुरागीको रुपमा सहभागि भइदिन आग्रह गरेको छ । धार्मिक कार्यका लागि सहभागि हुँदा अनावश्यक होहल्ला र भीड भड्काउने किसिमका कार्य नगर्न अनुरोध गरिएको छ । होहल्ला र भागदौड जस्ता कार्यले अरुलाई असर पर्ने हुँदा प्रहरीले संयमता अपनाउन आग्रह गरेको हो ।