विराटनगर । विराटनगर महानगरपालिका सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको अध्यक्षमा चयन भएको छ। विराटनगरमा बिहीबार सम्पन्न वार्षिक साधारणसभा एवम् अधिवेशनले विराटनगर महानगरपालिकालाई अध्यक्ष तोकेको हो ।
यसैगरी उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपालिका चयन भएका छन् ।अधिवेशनले १३ सदस्यीय समिति निर्वाचित गरेको छ ।
सदस्यहरूमा पोखरा, भरतपुर, ललितपुर महानगरपालिकासहित जितपुर सिमरा, हेटौँडा उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिका छन् । संस्थागत सदस्यहरूमा भूकम्प प्रविधि समाज नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सदस्य छन् । १६ वटा नगरपालिकाका मेयर तथा उपमेयरहरू सहभागी अधिवेशनले विधान पारित गरेको निवर्तमान अध्यक्ष तथा हेटौडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले जानकारी दिइन् । सिटिनेटको दशौँ अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गरिने भएको छ ।
सिटिनेट अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्याप्टरमा २१ नगरपालिका संस्थागत सदस्यहरू रहेका छन् भने २१ वटा विस्तारित नगरपालिका सदस्यहरू रहेका छन् । जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनजर गरी एसिया तथा प्रशान्त क्षेत्रका सहरी विकास सम्बन्धी संस्थाहरूको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तर्राष्ट्रिय संस्थाको स्थापना भएको हो ।
जापानमा स्थापित यो संस्थाले मलेसिया, श्रीलङ्का, भारत, नेपाल, इन्डोनेसिया, फिलिपिन्स लगायत १९ देशमा सञ्जाल बनाईसकेको छ। सिटिनेटको सञ्जालमा जोडिनकोलागि नगरपालिकाको न्यूनतम जनसङ्ख्या १ लाख बढी भएको हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । संस्थाको २०७९ फागुन १९ र २० गते धनगढीमा पूर्ण बैठक बसेको थियो भनेँ २०८० भदौ २१ गतेको अधिवेशनले विधान पारित गरेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए ।