विराटनगर । विकल्प एन अल्टरनेटिभले 'एसिया लिवर्टि अवार्ड २०२३' जितेको छ ।
बिहिबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित एक कार्यक्रमबीच विकल्प एन अल्टरनेटिभले 'एसिया लिवर्टि अवार्ड २०२३' जितेको हो।
मलेसियाको राजधानी क्वालालम्पुरमा एक सय ५० भन्दा बढि देशबाट आएका प्रतिनिधिहरुको उपस्थितिमा विकल्पलाई १० हजार अमेरिकी डलर रकम पुरस्कार रहेको सो अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड विकल्प एन अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले ग्रहण गरेका थिए । नेपालको पूर्वी क्षेत्रमा लाइसेन्सको समस्या समाधान गर्नको निम्ति विकल्पको भूमिकालाई मध्यनजर गरेर 'एसिया लिवर्टि अवार्ड २०२३' विकल्पले जितेको हो । 'एसिया लिवर्टि अवार्ड २०२३'फाइनलिस्टका लागि नेपालबाट विकल्प एन अल्टरनेटिभसहित इन्डोनेसियाको पोलिसी स्टडिज र फाउन्डेसन फर इकोनोमिक फ्रिडम फिलिपिन्ससँग छनोट भएको थियो ।
विगत सात बर्षदेखि विकल्पले मोटरसाइकलको कर र लाइसेन्सको बिषयमा निरन्तर आवाज उठाउदै आएको थियो । विकल्पले लेखहरु मार्फत नागरिकहरुलाई सुसुचित गराउने उदेश्यले विभिन्न माध्यमबाट लेखहरु प्रकाशित गरेको थियो भने यसै बिषयसंग सम्बन्धित रही डकुमेन्ट्री, छोटो लघुचित्र, कमेण्टरि र लाइसेन्स पाउनबाट बन्चित सवारीचालकहरुको अन्तर्वार्ता गरी विभिन्न समयमा प्रशारण गरेको थियो जसले मुद्दालाई धेरै मानिसहरु समक्ष पुर्याई सचेतना जगाउन मद्दत पुर्यायो ।
लाइसेन्स पाउने व्यवस्था सहज हुनुपर्दछ भनेर विकल्पले विराटनगरमा सर्वसाधारण तथा सरोकार वाला निकायहरुलाइ निरन्तर सचेत गराई रह्यो। पुर्वमा लाइसेन्सको समस्या समाधान गर्नको निम्ति विकल्पको भूमिकालाई मध्यनजर गरेर 'एसिया लिवर्टि अवार्ड २०२३' विकल्पले जितेको विकल्प एन अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले बताएका छन् ।
एट्लास नेटवर्कले समुदायमा समृद्धि, नवीनता र मानव हक हित र मर्यादाको विषयमा काम गर्दै आएको संस्थालाई मुल्याङकन गर्दै प्रत्येक वर्ष एसिया लिवर्टि अवार्डले सम्मान गर्ने गर्दछ । टेम्पलटन फ्रिडम अवार्ड प्राइज कार्यक्रमको एक भागको रूपमा एटलस नेटवर्कको क्षेत्रीय लिबर्टी अवार्डहरूले विश्वभरि स्वतन्त्रताको बुझाइमा महत्त्वपूर्ण योगदान पुर्याएका थिंक ट्याङ्कहरूलाई मान्यता दिन्छ।
एटलस नेटवर्कले अफ्रिका, एशिया, युरोप, ल्याटिन अमेरिका, मध्य पूर्व र उत्तर अफ्रिका र उत्तर अमेरिका मध्ये प्रत्येकबाट एक क्षेत्रीय लिबर्टी पुरस्कार विजेता चयन गर्छ । लामो समयदेखि चलिरहेका परियोजनाहरूमा केन्द्रित हुने प्राप्त आवेदनहरूको आधारमा जजहरुले विगत दुई वर्षभित्र हासिल गरेको प्रभावलाई विशेष रूपमा दस्तावेज गर्न सक्ने आवेदनहरूलाई प्राथमिकता दिई छनौट गरी विजेता चयन गर्दछन् ।