इन्दु साह
विराटनगर । विराटनगर–२ शंखरपुरमा बुधबार बिहान बाटोमा भेटिए मो.इस्लाम । ७० वर्षीय इस्लाम फोहोरवहाक हुन् । आम नगरवासीमा उनले गर्ने काम हेपिएको भएपनि उनका कामले दिने योगदान भने कसैको भन्दा कम हुँदैन । संविधान दिवस असोज ३ गते मनाउने दिन सडकमा भेटिएका इस्लामलाई यस बारेमा कुनै जानकारी छैन । नेपालमा संविधान दिवस मनाउँछन् भन्ने कुरा इस्लाम जस्ता धेरै नेपालीलाई थाहा छैन । त्यति मात्रै नभई उनले संविधान दिवसलाई ‘कुन ठाउँ पर्छ’ भन्ने सम्झन्छन् ।
सडकका बोतल संकलन गरिरहेका उनले ‘संविधान दिवस भनेको कुन ठाउँको नाम हो’ भनेर प्रश्न गरे । उनलाई आज जनताको सार्वभौम अधिकार सम्पन्न संविधान जारी भएको दिनका बारेमा जानकारी छैन । संविधानले अधिकार दिएको विषय समेत उनलाई जानकारीमा छैन । ‘जनताको अधिकार, कस्तो अधिकार ?’ इस्लामले भने–आजसम्म मजदुरी गरेर खाईरहेको मैले, कहिले अधिकार पाउँछु ?, र बोतल टिपेर गुजारा चलाउने दिन सकिन्छन् ।
कानुन अध्ययनरत विद्यार्थी हुन् मनोज तिम्सिना । उनी अहिलेको समयसम्म आइपुग्दा २०७२ को संविधान जारी हुनुपूर्व नागरिकका अधिकार संकिर्ण रहेको भएपनि अहिले न्यायको प्रत्याभूति महसुश गरिरहेको बताउँछन् । उनले धर्म निरपेक्षता, स्वतन्त्रता जस्ता विषयले नागरिकलाई केहि न केहि समेटेको भएपनि अझै धेरै मौलिक हक पूर्णत कार्यन्वयनमा आईनसकेको बताउँछन् । उनले संविधानले दिएका अधिकारलाई कार्यन्वयन गर्ने कानुन, कार्यविधी लगायतका विषयका हिसाबले कमजोर देखिएको बताउँछन् । उनले कतिपय कुरा बाहिरबाट टपक्क टिपेर राखिएकोले पनि कार्यन्वयनमा समस्या भएको बताएका छन् । नेपालको भौगोलिक अवस्था, राजनीतिक अवस्था र यहाँका मानिसहरुको विचार अनुसार नमिल्ने हुँदा समेत समस्या देखिएको उनले बताएका छन् ।
यसैगरी ३० वर्षीय मोहन प्रधानले संविधान आउनु वा नआउनुले नागरिकको दैनिकीमा खास परिवर्तन ल्याउन नसकेको बताएका छन् । उनले संविधानमा उल्लेखित हक अधिकार अनुभूति गर्न नपाएको बताएका छन् । फलफुलको व्यापार गर्दै आएका मोहमद सफिक हुसैन संविधान दिवसको नाममा अपराधिलाई आममाफिको नाममा रिहाइ गर्नु जायज नहुने बताउँछन् । उनले अदालतले अपराध ठहर गरिसकेको व्यक्तिलाई राष्ट्रपति आममाफी दिएर कैद मिनाहा गर्ने कामले दण्डहिनता मौलाएको दावी गरे ।