शुक्लाफाँटा : पर्यटकका लागि आकर्षक गन्तव्य

<span class='c1'>शुक्लाफाँटा : पर्यटकका</span> <span class='c2'>लागि आकर्षक गन्तव्य</span>

महादेव अवस्थी/रासस
दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर तेस्रो मुलुकका पर्यटक नेपाल आउने गरे पनि यहाँको प्रचारप्रसार हुन नसक्दा यहाँबाट नेपाल भित्रिने पर्यटक अन्यत्र घुम्न जाने गरेका छन् । यो नाकाबाट आउने थोरै विदेशी पर्यटक मात्रै शुक्लाफाँटा घुम्न जाने गरेका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा शुक्लाफाँटामा ठूलो घाँसे मैदान (फाँट) छ । जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ ।

शुक्लाफाँटाको घाँसे मैदानमा मयूर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको छ । उक्त फाँटमा पाटेबाघको दृश्यसमेत देख्न सकिन्छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बकौला र फाँट पाटेबाघ देखिने ठाउँ हुन् । सोही फाँटमा राजा महेन्द्रले विसं २०२४ मा सिकार खेलेको थिए भने एक रात बाससमेत बसेका थिए । हाल दुधिया क्याप्प भन्ने ठाउँमा राजा महेन्द्र बास बसेको भनाइ छ ।

शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असारसम्म हो । वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीबिरङ्गी फूलले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ ।

निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँट छन । जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी सेक्टरमा हीरापुर फाँट छ, त्यहाँ कृष्णसार संरक्षण गरिएको छ । निकुञ्ज प्रवेश गर्ने दुईवटा बाटो छन् । एउटा रानी ताल भएर फाँट पुगिन्छ भने अर्को बर्काेलाको बाटो । फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन् । उक्त मचानबाट पर्यटकले शुक्लाफाँटाको दृश्यावलोकन गर्न र तस्बिर लिने गर्छन् ।

शुक्लाफाँटाभित्रै रानी ताल छ । रानी ताल सँगसँगै अन्य स–साना ताल पनि छन् । त्यहाँ प्रशस्तरूपमा गोही र चराचुरुङ्गी देख्न पाइन्छ । करिब आठ÷दश वर्ष पहिला यहाँका सिंहपाल राजाका रानीले नुहाउने ताल भएकाले उक्त तालको नामकरण रानी ताल राखिएको इतिहास छ ।

वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०–९० वटा नीलगाई र चार सय ४९ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधनेश र लेसर भुँडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजाति रहेका छन् । पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाको लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार दुई सयभन्दा बढी बाह्रसिङ्गा छन । यहाँ घुम्न आउने पर्यटकले ठूलो सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न पाउँछन् ।

त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ३६ वटा पाठेबाघ रहेका छन् । निकुञ्जको विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानमा पनि यसको विशेषता हो । जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तलजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् । रानी ताल तथा अन्य स–साना तालमा मगर गोही प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी चार सय ४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । शुक्लाफाँटाको क्षेउ पिपरियामा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ । आगन्तुकको समयअनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले निकुञ्ज कार्यालयले पर्यटक भित्र्याउनका लागि पाँच वर्षको कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो । “निकुञ्जको व्यवस्थापन, वन्यजन्तु संरक्षण र पर्यटकको सहजताका लागि निकुञ्जभित्र बाटो मर्मतदेखि विभिन्न काम गरिरहेका छौँ ”, सहायक संरक्षण अधिकृत ऐरले भन्नुभयो, “यहाँको प्रचारप्रसारमा कमी भएका कारण पर्यटकको सङ्ख्या न्यून छ ।” उहाँले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भए पनि प्रचारप्रसारमा कमी रहेको बताउनुभयो ।

यहाँका पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटा पर्यटकका लागि आकर्षित गन्तव्य भए पनि यसको प्रचारप्रसार हुन नसकेको बताउनुभयो । “शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु सहजै देख्न सकिन्छ तर प्रचारप्रसार भएन”, उहाँले भन्नुभयो, “सीमित समयका लागि जङ्गल सफारी खुल्ने कारणले पनि पर्यटकको कमी भएको हो ।” उहाँले यहाँको प्रचारप्रसार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

अध्यागमन कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार यो वर्ष छ सय ८५ पर्यटक भित्रिएका छन् । तर यो नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थल छोडेर काठमाडौँ पोखरा जाने गरेको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ ।

अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधै काठमाडौँ पोखरालगायतका सहर घुम्न जाने गरेको बताउनुभयो । “अहिले विदेशी पर्यटक आउने सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “गत वर्षको भन्दा अहिले विदेशी पर्यटक आउने क्रम बढेको छ ।” अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार सन् २०२२ मा पाँच सय ४२ जना विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ जना विदेशी पर्यटक भित्रिएका छन् । सेप्टेम्बरमा मात्रै एक सय ५४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क हेर्दा तेस्रो मुलुकका पर्यटक न्यून छन् । चालु आवको हालसम्म सार्क मुलुकका एक सय ५८ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन् । गत वर्ष एक सय पाँच विदेशी पर्यटकले मात्रै यहाँ भ्रमण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्