काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा.रुपक सापकोटा नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो ।
डा.सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत हुनुहुन्छ । यसअघि डा.सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
डा.सापकोटा विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार हुनुहुन्छ । उहाँले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गर्नुभएको थियो ।
हालै, प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा डा.सापकोटालाई परराष्ट्रविदका रुपमा सामेल गराइएको थियो ।