-केशव रिजाल
आमा
आफैंभित्रको
एउटा ग्रन्थि
जसले
उत्पादन गर्दो रहेछ
आवरणदेखि आत्मासम्म
सररर सिंच्ने अमृत रस
अविरल !
उर्जा,
ओज,
शक्ति,
कान्ति,
सुरक्षा,
स्नेह,
प्रत्येक पल उत्सव झैं अपार खुसी,
स्वर्गीय आनन्द आदि के के हो के के ?
र
सम्पूर्ण
जीवन रसहरू
कलकल
शितल
झरना जस्तै!
अचानक
यो ग्रन्थि हराउदो रहेछ,
बिलाउदो रहेछ अनायसै,
त्याग्दो रहेछ एक झट्कामा हामीलाई
आमाको अन्तिम स्वाससँगै
अनि मात्र पाईंदोरहेछ पत्तो !
हरे यो जीवन
जीवन रहदैन रहेछ
यन्त्र बन्दो रहेछ
अनि त केवल
आएका
र
थोपरिएका
लौकिक, पारलौकिक
जिम्मेवारीहरूलाई
पूरा गर्न मात्र
उभ्याउँनु पर्दोरहेछ जसोतसो
यो निष्प्राण सरह
निष्प्रताप र निरस जीवनलाई
घिसारी रहनुपर्दो रहेछ
यात्रा पूरा नहुन्जेल !