विराटनगर । मोरङको धनपालथान गाउँपालिका-३ डकुवाडाँगामा बायोग्यास प्लान्ट तयार भएको छ । जीवन विकास समाजले १० बिघा क्षेत्रफलमा स्वचालित मेसिनसहितको प्लान्ट तयार गरेको हो ।
प्लान्टबाट उत्पादित बायोग्यास सिलिन्डरमा भरेर बजार पठाइन्छ । प्रांगारिक मल किसानले उपयोग गरिरहेका छन् ।
खेतीको समयमा सधै किसानले रासायनिक मलको अभाव झेलिरहेका हुन्छन् । किसानलाई सहजै मल उपलब्ध गराउने उद्देश्यसहित प्रांगारिक मल उत्पादन गरिरहेको बायोग्यास प्लान्टका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए ।
पहिलो चरणमा प्लान्टले प्रांगारिक मललाई पाँच केजीको प्याक बनाएर बजारमा पठाएको छ । २० र ५० किलोको प्याक पनि बजारमा ल्याउने तयारीमा छ ।
जीवन विकास ब्रान्डको पाँच किलोको प्रांगारिक मल प्रति प्याकेट १५० रुपैयाँमा बिक्री हुन्छ । प्लान्टबाट निस्किएको ठोस पदार्थबाट प्रांगारिक मल बनाएको जीवन विकासले झोलबाट प्रांगारिक झोल मल उत्पादन गर्ने तयारी गरिरहेको छ ।
झोल मल प्रयोगका लागि परीक्षण भइरहेको प्रमुख मण्डलले बताए । गत वर्ष धान र जुट बालीमा प्रयोग गर्दा झोल मलले उत्पादन बढाएको बताउँदै उनले पुनः परीक्षणपछि बजारमा पठाइने बताए ।
प्लान्टबाट दैनिक सात टन प्रांगारिक मल उत्पादन गर्ने क्षमता छ । अहिले भने दैनिक डेढ टन मल उत्पादन भइरहेको छ ।