विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज भएको खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि विशाल विक्रम केसीले ३१ बलमा ४ छक्का र १ चौका प्रहार गरि ४८ रन बनाउँदा कप्तान देव खनालले २३ बलमा २ छक्का र ६ चौका प्रहार गरि ४५ रन र दिलसाद अलीले ३१ रनको योगदान दिए ।
सुदुरपश्चिमका नरेन साउदले २ विकेट लिँदा हेमन्त धामी, दिपक बोहोरा र शेर मल्लले समान १–१ विकेट लिएका थिए ।
जवाफमा १ सय ६९ रनको लक्ष्य पाएको सुदुरपश्चिमले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाई १ सय ११ रनमा सिमित भयो । सुदुरपश्चिमका नरेन भट्टले सर्वाधिक १९ रन जोड्दा अविशेक पलले १८ रनको योगदान दिए । लुम्बिनीका म्यान अफ द म्याच निर्मल गुरुङले ३ विकेट लिँदा विर मगर र राहुल चौहानले २–२ विकेट लिए ।
दोस्रो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ३ विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाई ९० रनमा खुम्चियो । मधेशका प्रदिप पासवानले सर्वाधिक १८ रन बनाउँदा अविशेक तिवारीले १२ रन,अरनिको यादवले ११ रन र राजेश यादवले नटआउट ११ रनको योगदान दिए । कर्णलीका म्यान अफ द म्याच दिवान पुनले ३ विकेट लिँदा दिनेश अधिकारी र अनुज चहरा २–२ विकेट लिए ।
जवाफमा ९१ को सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५ दशमलव ४ ओभरमा ७ विकेट गुमाई लक्ष्य पार गरेको छ । कर्णालीकालागि हिमान्सु शाहीले २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरि ३४ रन बनाउँदा अर्जुन घर्तीले १४ रन र रविद्यन्र शाहीले १२ रनको योगदान दिए । मधेशका रन्जित कुमारले ३ विकेट लिँदा हरिशैकर साहले २ विकेट लिए ।
बिहिबारको पहिलो खेल लुम्बिनी र गण्डकी तथा दोस्रो खेल काशी र मधेश प्रदेशबिच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साख बाबु कुरैसीले जानकारी दिए ।