विराटनगर । मुन लाइट गर्ल्स होस्टल संचालक मधु रेग्मीलाई प्रहरी प्रशासनले जोगाउन खोजेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् ।
उनीहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर धर्ना दिएका हुन् । मुनलाइट होस्टल खारेजीको मागसहित अस्पतालमा रहेको फर्जी विद्यार्थीलाई सम्मानित हिरासतमा राखी कार्वाही अगाडी बढाउन माग राखेका छन् ।
आफ्नो होस्टलमा बस्दै आएकी नर्सिङ अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको भए पनि अहिले रेग्मी अस्पतालमा भर्ना भएकी छिन ।
पछिल्लो समय भाडाको घरमा नयाँ होस्टल सञ्चालन गर्दै थिइन्। उनलाई काठमाडौँ जानुपर्ने पैसा चाहिएपछि चैतको समेत एडभान्स मागेर छात्रामाथि दुर्व्यवहार गरेको भिडियोमा देखिन्छ। छात्राले तत्काल दिन नसक्ने आशयसहितका कुरा राखेको देखिन्छ तर त्यति भन्नासाथ रेग्मीले जबरजस्ती गरी किताब, लुगा तथा ओछ्यान फ्याँकेकी थिइन्।
त्यसपछि उनलाई सम्झाउन खोज्दै गरेको पनि देखिन्छ। बारम्बार ‘निस्केर जा, तँ निस्केर जा’ जस्ता शब्द प्रयोग गर्दै रेग्मीले किताब तथा कपडा फ्याँकिरहेका वेला छात्रालाई झापड हानेको देखिन्छ। त्यस वेला छात्राले ‘आमा’ पुकार्दै आफ्नो साथीसँग अँगालोमा बेरिएको दृश्य भिडियोमा देखिन्छ। घटनाको विषयमा स्वतन्त्र विद्यार्थी युनियन विराटनगर नर्सिङ क्याम्पस एकाइ समितिलगायत अन्य विद्यार्थी संगठनहरुले कारबाहीको माग राखेका छन् ।