विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेको सामाजिक विभेद हटाउन हामीसबै लाग्नु पर्ने बताउनु भएको छ । मानव अधिकारको लागि स्रोत विकास मञ्च नेपाल(रिडेप)द्वारा सोमबार विराटनगरमा आयोजित ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको उपलक्ष्यमा आयोजित दुई दिने दलित जनप्रतिनिधिहरुको तेस्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुलुकमा आएको लोकतन्त्र, गणतन्त्रको मर्म अनुसार समाजमा हुने भेदभाव, छुवाछुत हटाउनु पर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले कानून भनेको समाजमा पछाडिएको परेका समुदायको उत्थानका लागि बनाइएको नियम र आचार संहिता भएको चर्चा आगामी प्रदेश सभाको बर्खे वैठकमा दलित शसक्तिकरण विधेयक ल्याउने जानकारी दिनु भयो । उहाँले सम्पूर्ण नेपाली परिवारका सदस्यहरुको व्यवहारिक मिलन गराउनु नै दलित आन्दोलनको मुख्य उद्दृेश्य रहेको विचार राख्दै जनप्रतिनिधिहरुले सबै जात एवं समुदायको प्रतिनितित्व गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले श्रमको सम्मानबाट मुलुकमा समृद्धि आउने चर्चा गर्दै कामको आधारमा कोही कसैलाई हेयको दृष्टिले हेर्न एवं सम्बोधन गर्न नहुने बताउनु भयो । सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले समाजमा रहेका विदेभ एवं छुवाछुतको अन्त्य गरी मुलुकको सम्पूर्ण विकासमा लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले जातीय, शैक्षिक, सामाजिक विभेदको अन्त्य गरी एकताको सन्देश दिन सबै समुदायलाई आग्रह गर्नु भयो ।
नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सबैको रगत रातो हुनाले सबै नेपालीवीच एकता कायम गरी समाजमा रहेका विकृति, विसंगति, विभेद एवं छुवाछुतको अन्त्य गरी मुलुकको समृद्धिमा लाग्न आग्रह गर्नु भयो । मञ्चका अध्यक्ष उमेश विश्वकर्मा,गैर सरकारी महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा पन्त र नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पि अधिकारीले मुलुकको समृद्धिका लागि हामीसबै भेदभाव, छुवाछुत अन्त्य गरी एकता कायम गर्नु पर्ने सुझाव दिनु भयो ।
सोही अवसरमा मुख्यमन्त्री कार्की दलित अभियन्ता एवं सुनसरी इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य दिनेश रसाइली सम्मान गर्नु भएको थियो । सम्मेलनमा प्रदेशमा दलित समुदायबाट निर्वाचित पाँच सय जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।