प्रेम देवान
विराटनगर । आगलागीको जोखिमबाट कुनै पनि जिल्ला अछुतो छैनन् । नेपालमा त्यस्तो कुनै बस्ती छैन होला जहाँ आगलागी नभएको होस् । त्यसैले यसको जोखिम सबैतिर छ । मोरङ जिल्ला पनि आगलागीको जोखिममा छ ।
चालु आर्थिक बर्षको साउनयता फागनु अन्तिमसम्म मात्रै १२७ वटा आगलागीका घटना भएका छन् । जसका कारण पाँच जनाको ज्यान गएको छ । जिल्लाभर आगलागीबाट १७ करोड ३७ लाख १६ हजार ५ सय क्षति पुगेको छ । आगलागीबाट २६ जना भन्दा बढी मानिस घाइते भएका छन् ।
जिल्ला आपत कालिन कार्य संचालन केन्द्र ( डिईओसी ) को तत्याकं अनुसार मोरङ जिल्लामा आगलागी कारण मानवीयसँगै धनजनको ठुलो क्षति पुगेको छ। २०८० चैत्र महिनाको ८ गतेसम्म मात्रै १३ वटा घटना भएका छन् । जसमा ४ करोेडको धनजनको क्षति भएको छ ।
चैत्र महिनाको ३ र ४ गते सबैभन्दा धेरै र ठुलो क्षति पुगेको छ । चैत्र ३ गते शनिबार रंगेली ३ बाबु सहायक टोलमा २० वटा घर जलेर नष्ट हुँदा २४ परिवार विस्थापित हुन पुगेका छन् । आगलागीका कारण झन्डै २ करोड ५० लाखको क्षति हुन पुग्यो । त्यसको भोलीपल्ट मोरङका ३ स्थानमा आगलागी भए। जसका कारण ती स्थानहरुमा पनि करोडौँकोे धनजनको क्षति हुन पुग्यो । यसरी दैनिक जसो आगलागी घटनाको तथ्यांकले पनि मोरङ जिल्ला उच्च आगलागीको उच्च जोखिम मान्नुपर्छ ।
आगलागीको जोखिम र कारण
नेपालका सहरी क्षेत्रमा आगलागीको उच्च जोखिम हुनुमा साँघुरा सडक तथा गल्ली, घना बस्ती, पानीको अभाव, निम्न गुणस्तरका विद्युतीय सामग्री (ट्रान्सफर्मर, तार, हिटर, फ्युज आदी), अव्यवस्थित तथा असुरक्षित पेट्रोल तथा डिजेल पम्प, अग्निनियन्त्रणका साधन र जनशक्तिको अभाव, भवनको स्वरूप र निर्माण सामग्री लगायतका कारण प्रमुख छन्। बालबालिका र भान्सामा काम गर्ने मानिस आगोको जोखिममा बढी छन । आगलागी हुने वा आगो प्रयोग गर्दा विभिन्न दुर्घटना हुने अनेक कारण छन् । नेपालमा आगलागीको जोखिम कम गर्ने एवम् आगो निभाउने प्रविधि, उपकरण र जनशक्ति कम छ । पहिला–पहिला सुक्खा याममा मात्र सुनिने आगलागीको घटना अहिले वर्षा तथा चिसो समयमा पनि सामान्य भईसकेको छ ।
घरको चुलोबाट सुरु हुने आगलागी अब ग्यास सिलिन्डर, बिजुली सर्ट आदिका कारण धेरै हुन थालेको छ । जुनसुकै वेला हामी आगलागीको चपेटामा पर्न सक्ने सम्भावना बढेको छ । आगलागीको एउटा प्रमुख कारण विद्युत् सर्ट मान्नुपर्छ । व्यवस्थित तरिकाले घर वाइरिङ गर्ने, दक्ष प्राविधिकबाट वाइरिङको काम गराउने चलन नभएका कारण पनि विद्युत सर्ट हुने गरेको छ । घरमा प्रयोग गरिएको तार तथा फ्युजको क्षमता तथा विद्युतीय सामग्रीको भारको तारतम्य नमिल्दा विद्युत् सर्ट भएर आगो लाग्ने सम्भावना बढी हुन्छ । जलवायु परिवर्तनका कारण हिउँदमै पनि ठूलठूला आगलागीका घटना भएका छन्, अझ हुरीबतास चल्ने याम शुरू हुन लागेकाले सजकता अपनाउनु जरुरी छ ।
मोरङमा १७ स्थानीय तह ७ वटा सँग मात्र छ दमकल
मोरङ जिल्लामा १७ वटा स्थानीय तह छन् । जस मध्ये ७ वटा स्थानीय तहसँग मात्रै दमकल छन् । जसमा कोशी प्रदेशको एक मात्र महानगरपालिका विराटनगरसँग ५ वटा छ तर चालुमा भने ३ वटा मात्रै छ । त्यसैगरी विराटनगर एयरर्पोटमा ३ र आयल निगसँग एउटा दमकल छ ।
त्यसबाहेक रंगेली, उर्लाबारी, बेलबारी, पथरी , कानेपोखरी, केराबारी सुन्दर हरैचामा १—१ वटा रहेका छन् । बाँकी रहेका ग्रामथान , मिक्लाजुङ्ग, कटहरी,धनपाल, बुढीगंगा,जहदा, सुनबर्षी,रतुवाई, लेटाङ्गसँग दमकल छैन । भवितव्य लागि भईहाले छिमेकी जिल्ला र स्थानीय तहहरुबाट दमकल मगाएर काम चलाउने गरिन्छ । कोशी प्रदेश सरकारले बाँकी रहेका स्थानिय तहहरुलाई पनि यथासिग्र दमकल उपलब्ध गरानु आश्वयक देखिन्छ ।
दमकल आगो नियन्त्रणको प्रभावशाली साधन हो । आगो नियन्त्रणको लागी दमकलसँगै ‘फायर एस्टिङ्ग्विसर (अग्नी नियन्त्रक उपकरण), होज रिल (पानी फाल्ने पाइप) हरू स्थानीय तहहरुले अनिवार्य राख्नुपर्छ । त्यसको अवला ठूला मल, सार्वजनिक कार्यालय तथा अपार्टमेन्ट र पेट्रोल पम्पमा आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने आधारभूत सामग्री (फायर एक्सटिङ्गुवसर)को अनिवार्य व्यवस्था गरिनुपर्छ । आगो निभाउने यन्त्र वा सामग्री प्रयोगको तौरतरिका मल वा कार्यालयमा काम गर्ने सबै तहका कर्मचारी तथा कामदारलाई आगो लागिहाले निभाउने उपायको पूर्वतयारीका तालिमहरु दिनु जरुरी देखिन्छ ।